२०८२ फाल्गुन २६ , मंगलबार

आमालाई बैंगलोर गएको म्यासेज छोडेर मुम्बईबाट हराएका थिए दिदीबहिनी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट हराएको खुलेको छ ।मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोरी दिदीबहिनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।बिहीबार बिहान ६:४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुईतले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका-८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल छन् ।आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो । फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।प्रहरीले उनीहरूको शव उठाएको छैन ।भारतमा रहेका उनका बाबुआमा आजै दिल्लीबाट विमानमार्फत काठमाडौं आउने तयारीमा रहेको प्रहरीले बताएको छ ।

उनीहरूको मृत्यु शंकास्पद देखिएको छ । मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन् । मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए । सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए ।उनीहरूले यो कुरा तीन दिन पहिला ५ साउनमा बताएको प्रकाशित अन्तर्वार्ताको मितिबाट खुल्छ । त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सार्वजनिक हुन्छ । यता, यो विषयमा भने केही जानकारी नभएको प्रहरीले बताएको छ । ‘अहिले उहाँहरूका बाबुआमा तथा आफन्तसँग हामीले कुराकानी गर्न पाएका छैनौं । होटलमा काम गर्ने हो/होइन त्यो पनि यकिन हुन पाएको छैन । अहिले सबै विषय अनुसन्धानकै क्रममा छ,’ नेउपानेले अनलाइनखबरसँग भने ।

प्रहरी स्रोतका अनुसार मृत भेटिएका किशोरी करिब १५ दिनअघिबाट उक्त घरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताएको प्रहरीले अनलाइनखबरलाई जनाएको छ । अहिले घटनास्थल सुरक्षित पारेर राखिएको छ । मृतकका बाबुआमा आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि पठाइएपछि बल्ल अनुसन्धानले गति लिने प्रहरीले बताएको छ ।भारतमा खोजी गर्दा थाकेका थिए बाबुआमा किशोरीका बाबु वासुदेवले सिगास अनलाइन टिभीलाई बताएअनुसार उनी ३० वर्षभन्दा पहिलादेखि भारतमा बस्दै आएका थिए । कान्छी छोरी सिर्जनालाई जन्मेको एक वर्षपछि आफूसँगै लगेका थिए । मृत भेटिएकी दिदी मेनुका भने सुर्खेतमै थिइन् । श्रीमती र छोराछोरीसहित वासुवेद मुम्बईमा लामो समयदेखि बस्दै आएका थिए । मेनुकाले पनि बाबुआमासँगै भारत जाने, घुम्ने बस्ने इच्छा देखाएपछि उनलाई पनि सँगै लगिएको थियो । त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन । त्यसपछि आमा उमाले भ्वाइस म्यासेज छाडिन्, ‘रोटी बनाएर खानू । म काममा गएँ ।’

हेर्दा छोरीहरूका कपडा छैनन् । पैसा छैन । एटीएम, आधार कार्ड छैन । आफन्तकोमा पनि छैनन् । कम्प्युटर क्लास जान्छु भनेर हिँडेका छोरीहरू बेपत्ता भएपछि उनीहरू प्रहरीदेखि सामाजिक संस्थालाई जानकारी गराउँदै खोजी तीव्र पारे ।‘लोकेसन चेक गर्न लगाउँदा बिउण्डुतिरको देखायो । त्यता खोजियो । गाडी बुक गरेर तीन-चार जना मान्छे प्रहरी लगाएर खोज्दा पनि कही भेटिएन । राति २ बजे खोज्न गएको मान्छे भोलिपल्ट दिउँसो २ बजेतिर फर्कियौं । र, भोलिपल्ट प्रहरीमार्फत लोकेसन हेर्दा नेपालतर्फ गएको देखियो । बीचबीचमा मोबाइल अफ भएको पनि देखियो,’ आमा उमाले भनेकी छिन् । बाबुआमाले बताएअनुसार उनीहरूलाई होटलमा काम लगाइएको थियो । सीसी क्यामेराले नदेख्ने ठाउँमा काम लगाएको भनेपछि उनीहरूको मन झनै चिसो भएको थियो । उनीहरूलाई यो कुरा कसले भन्यो, होटलमा काम गरेको हो/होइन भन्ने विषय अनुसन्धानकै पाटो बन्ने देखिन्छ । यी सबै कुरा उनीहरूका बाबुआमा आएपछि अनुसन्धान हुने प्रहरीले बताएको छ ।
रासस