२०८२ फाल्गुन २४ , आइतवार

बालबालिकालाई पिसाब संक्रमण हुन नदिन के गर्ने?

R

सुनाखरी न्युज  / काठमाडौं ।

बालबालिकामा पिसाब संक्रमण  हुनु सामान्य भए पनि यो गम्भीर हुन सक्छ। संक्रमणबाट बच्न बालबालिकामा सानैदेखि राम्रो पिसाबको बानी बसाल्नुपर्छ।बालबालिकालाई ज्वरो आउने बित्तिकै क्लिनिकमा गएर औषधि खुवाउनु हुँदैन। किनभने, ज्वरोको एउटा कारण पिसाब संक्रमण पनि हुन सक्छ भन्ने कुरामा अविभावकले हेक्का राख्नु जरुरी छ। प्रायः पुरुषमा भन्दा महिलामा पिसाबको संक्रमण धेरै हुने गर्दछ । तर, नवजात शिशुका हकमा छोरीको दाँजोमा छोरामा चार गुणा बढी संक्रमण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

पिसाब संक्रमण गराउने मुख्य कीटाणु इकोलाई नामक जीवाणु हो । सामान्यतया पिसाबमा जीवाणु हुँदैन । तर, मलद्वारनजिकैको संक्रमित छालाबाट सजिलै उक्त जीवाणु मूत्रप्रणालीमा प्रवेश गर्दछ । तसर्थ, पिसाब संक्रमणको मुख्य स्रोत नै बिरामीको आफ्नै दिशालाई मानिन्छ । एक पटक पिसाब संक्रमण भइसकेका बालबालिकालाई पुनः संक्रमण हुने जोखिम ३० प्रतिशतले बढेको हुन्छ। त्यसैले पुनः संक्रमण हुन नदिन प्रशस्त पानी पिउने, पिसाब नरोक्ने, कब्जियत हुन नदिने, सन्तुलित खाना दिने, पिसाब फेरिसकेपछि योनीलाई राम्रोसँग सफा गर्ने, दैनिक भित्री वस्त्र परिवर्तन गर्नुपर्छ। सकेसम्म भित्री वस्त्र प्रयोग गर्दा कटनको कपडा प्रयोग गर्नु उपयुक्त हुन्छ।

संक्रमणको निदान र उपचार
लक्षण देखा परेमा बच्चालाई वेलैमा युरोलोजिस्ट चिकित्सकसँग जँचाउनुपर्छ । चिकित्सकले बच्चालाई आवश्यक जाँच गरी पिसाबको स्याम्पल जाँचका लागि प्रयोगशाला पठाउँछन् । प्रयोगशालामा विशेष गरी पिसाबको सामान्य तथा माइक्रोस्कोपिक जाँच र कल्चर गरिन्छ । यसरी गरिएको जाँचबाट पिसाबमा वास्तविक संक्रमणको स्थिति देखिन्छ, संक्रमण गर्ने कीटाणु पनि उम्रिएको देखिन्छ, र साथै उपयुक्त एन्टिबायोटिकको सेन्सिटिभिटी पनि चेक गरिन्छ । यसले संक्रमण उपचार गर्नका लागि चिकित्सकलाई सही एन्टिबायोटिक चलाउन सहज हुन्छ ।

प्रायः एकदेखि दुई हप्तासम्म एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ, तर अवस्था हेरी यो अवधि फरक पर्न सक्छ । पटक–पटक पिसाबको संक्रमण भइराख्ने बच्चामा मूत्र प्रणालीमा पिसाब उल्टो फर्किने समस्या हुन सक्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थालाई भेसिको–युरेटेरल रिफ्लक्स भनिन्छ । यो अवस्थाको सही निदानका लागि एउटा विशेष किसिमको एक्स–रे जाँच गरिन्छ, जसलाई मिक्चुरेटिङ सिस्टोयुरेथ्रोग्राम भनिन्छ ।

किन हुन्छ बालबालिकालाई पिसाब संक्रमण ?
बालबालिकामा पिसाब संक्रमण हुनुका मुख्य कारणहरू – 
सफाइको कमी  ( खासगरी दिसापछि राम्रोसँग सफा नगर्नु ) 
पिसाब लामो समयसम्म रोकिराख्नु
पिसाब गर्न समय नपाउनु वा डराउनु (विद्यालयमा खासगरी) 
अपर्याप्त पानी पिउनु
डायपर प्रयोगमा लापरबाही
केही जन्मजात रोग (मूत्र प्रणालीको बनावटमा गडबडी )
अति कडा कपडा वा नाइलन अन्डरवेयर लगाउने
रोकथामका उपाय

कम उमेरका बच्चालाई डायपर फेर्न ढिलो गर्न हुँदैन । समयमै डायपर नफेर्नाले पिसाबको संक्रमण हुन सक्ने जोखिम बढ्छ ।
बच्चामा पिसाब फेर्न जाँदा प्रायः पूरै पिसाब नफेरी पिसाब बाँकी राख्ने बानी हुन्छ । बच्चालाई क्लियर हुने गरी पिसाब फेर्न सुझाव दिनुपर्छ ।
बालिकालाई प्रत्येकचोटि पिसाब फेरिसकेपछि मूत्रप्रणालीको बाहिरी अंग सही तरिकाले सफा
गर्न सिकाउनुपर्छ ।
पिसाब लाग्दालाग्दै पनि रोकेर बस्ने बानी विकास गराउनुहुँदैन । मूत्रथैलीमा पिसाब केही बेर थिग्रेर बस्दा त्यहाँ ब्याक्टेरिया उम्रिन सक्ने उपयुक्त वातावरण हुन्छ ।
यति होसियारी अपनाउँदाअपनाउँदै पनि बच्चामा पिसाब संक्रमणको लक्षण देखा परेमा युरोलोजिस्ट चिकित्सकसँग सल्लाह लिनुपर्छ ।