
सुनाखरी न्युज/ काठमाडौं ।
जिल्लाको प्रमुख भन्सार कार्यालय माडरले आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा उल्लेखनीय सफलता हात पारेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा रु दुई करोड ७० लाख ६९ हजार बढी राजस्व सङ्कलन गर्दै कुल रु १४ करोड ८३ लाख ६१ हजार सङ्कलन गरेको हो ।भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार आर्थिक वर्षको अधिकांश महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाइएको छ । मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भए पनि बाँकी सबै महिनामा लक्ष्य पार भएको बताउँदै उहाँले समग्रमा १२२ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । गत चार वर्षको तुलनामा गत आवको राजस्व सङ्कलन सबैभन्दा बढी भएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७८/७९ मा रु ११ करोड २१ लाख ९७ हजार, आव २०७९/८० मा रु नौ करोड ३६ लाख १० हजार र आव २०८०/८१ मा रु नौ करोड ४६ लाख आठ हजार राजस्व सङ्कलन भएको थियो ।
प्लान्ट क्वारेन्टाइन सेवा स्थापनामा ढिलाइ
माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको प्लान्ट क्वारेन्टाइन सेवा स्थापना भई कार्यान्वयन हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता औँल्याउँदै आए पनि प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र परेको हो । भन्सार प्रमुख सापकोटाका अनुसार माडरमा क्वारेन्टाइन सेवा सुरु भएमा यसले माडर, ठाडी र राजविराजका भन्सार कार्यालयलाई सेवा दिइनेछ । “यी नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रिया सहज बनाउनेछ”, उहाँले भन्नुभयो ।
प्लान्ट क्वारेन्टाइन सेवा सुरु भएमा कृषिजन्य वस्तुको आयातनिर्यात सजिलो हुने, ढुवानी खर्च घट्ने, उपभोक्ता मूल्यमा स्थिरता आउने र राजस्व असुलीमा दोब्बर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । हाल कृषिजन्य वस्तु आयातनिर्यात गर्नेलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म जानुपर्ने बाध्यता छ । यसले अतिरिक्त ढुवानी खर्चमात्र होइन, उपभोक्तालाई पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था सृजना भएको व्यवसायीहरूको गुनासो छ । माडर भन्सार कार्यालयले देखाएको राजस्व सङ्कलनको प्रगति र सम्भावित सेवा विस्तारको तयारीले आगामी वर्षहरूमा अझ उल्लेखनीय सुधारको सङ्केत गरेको छ । यथाशीघ्र प्लान्ट क्वारेन्टाइन सेवा सुरु गर्न सम्बन्धित निकायले गम्भीरता देखाउनुपर्ने माग व्यवसायी र भन्सार प्रशासन दुवैबाट उठ्न थालेको छ ।
रासस