२०८२ फाल्गुन २३ , शनिवार

श्रमिकको न्यूनतम पारिश्रमिक अब १९ हजार ५५० रुपैयाँ

shram-rojgar-mantralaya-mole-labour-ministry

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ । ३२ असारसम्म श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो ।

 

मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आव (१ साउन) देखि लागु हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि भएको हो । समितिले सरकारलाई सिफारिस गरेपछि न्यूनतम पारिश्रमिक बढेको हो ।

 

सरकार, रोजगारदाता र श्रमिकका संगठनहरूको समेत प्रतिनिधित्व रहने समितिले दिएको सिफारिसका आधारमा श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक तोकेर राजपत्रमा प्रकाशित गर्ने छ । त्यसपछि बढेको पारिश्रमिक लागु हुनेछ ।

यो पारिश्रमिक चिया बगानमा काम गर्ने श्रमिकका हकमा भने लागु हुने छैन । ती श्रमिकका हकमा छुट्टै बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले अहिले निर्णय नलिइएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

सरकारले समितिले दिएकै सिफारिस अनुसार निर्णय गर्नेसमेत उनले बताए । श्रम ऐन अनुसार हरेक दुईरदुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने उल्लेख छ । खाद्यान्न सहित वस्तुको मूल्यवृद्धि, आर्थिक अवस्था सहित सूचक आधार मान्दै नयाँ न्यूनतम पारिश्रमिक तोकिएको समेत उनले जानकारी दिए ।

उता, श्रमिकमा भने सहमति जुटेको थिएन । तर, सत्तारुढ दल (एमाले र कांग्रेस) का श्रमिक संगठनले सहमति जनाएपछि सरकारले रोजगारदाता र श्रमिक संगठनको सहमतिमै न्यूनतम पारिश्रमिक तोकेको हो ।