
सुनाखरी न्युज/ काठमाडौं ।
रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. घ मा संवत् २०८२/०७/१७ गते हुने उपनिर्वाचनका लागि मिति २०८२/०३/२९ मा आयोगबाट मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको छ। मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८२/०७/१६ गतेसम्म ज्ञड वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (Cut-off Date) निर्धारण गरी २०८२/०३/१६ सम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने छ। अद्यावधिक कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण मिति २०८२/०४/१४ गते आयोगको वेबसाईट www.election.gov.np मा प्रकाशन गरिनेछ भने मिति २०८२/०४/१५ देखि २०८२/०४/२२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ। यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी मिति २०८२/०५/२५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ। मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरूको सहभागिता अपरिहार्य रहेकोले मिति २०८२/०४/१५ देखि २०८२/०४/२२ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिने व्यहोरा सरोकारवालाहरू सबैमा जानकारी गराइन्छ।