
सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।त्यस्तै, प्रदेश सरकारबाट ससर्त, समानीकरण राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ। क्षेत्रगत रूपमा हेर्दा आर्थिक विकासमा कुल बजेटको तीन प्रतिशत (७५ करोड ३४ लाख ३० हजार), सामाजिक विकासमा २० प्रतिशत (५ अर्ब दुई करोड २८ लाख ६८ हजार), पूर्वाधार विकासतर्फ ५१ प्रतिशत (१२ अर्ब ८० करोड ८३ लाख १४ हजार) विनियोजन गरिएको छ। यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत (३ अर्ब १ करोड ३७ लाख २१ हजार) र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत (तीन अर्ब ५१ करोड ६० लाख ८ हजार) रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।