
सुनाखरी न्युज/ काठमाडौं ।
विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।
फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो ।
चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ ।
यसअघि सन् २०२४ को अक्टोबर २९ मा एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ द इयर ९गोल्ड० अवार्ड २०२४ बाट पनि सम्मान गरिएको थियो ।
एन्फाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पश्चात संस्था सुधार, भद्रगोल व्यवस्थाको अन्त्य र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा आज सकारात्मक मोडमा आइपुगेको छ ।’