
सुनाखरी न्युज/ काठमाडौं ।
एमालेको आन्तरिक जीवनमा अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकछत्र प्रभाव कायम रहेको एमालेमा ओलीको अनिच्छाका बावजुद पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन्।पूर्वराष्ट्रपति भण्डारीले शनिबारको त्यही कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट एमाले नेताहरूले जानकारी दिएका छन्। ओलीकै सहयोगमा दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले पति मदनको ७४ औं जन्मजयन्तीकै अवसर पारेर सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट नेताहरूले बताएका छन्। ‘उहाँले भोलि सक्रिय राजनीतिमा फर्कन्छु भनेर बोल्ने तयारी गर्नुभएको छ,’ एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सेतोपाटीसँग भने, ‘उहाँले अध्यक्षलाई भेटेर सहयोग गर्नुस् भनेर आग्रह गरिसक्नु भएको छ।
भोलि सार्वजनिक रूपमा उहाँले त्यही कुरा भन्ने हो।’ पछिल्लो समय भण्डारी निकट रहेका नेता थापाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधान, ऐन, कानुन तथा पार्टी विधानले नछेक्ने बताए। बुधबार एमालेको ५३ औं सचिवालयको बैठकमा महासचिव शंकर पोखरेलले गणतन्त्रप्रति चौतर्फी प्रहार भइरहेको बेला पूर्वराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्कने विषयले झनै नराम्रो गर्ने बताउँदै यो विषय सचिवालयमा उठाएका थिए। उनले विधानमै व्यवस्था गरेर भण्डारीलाई रोक्नुपर्ने प्रस्ताव गरेका थिए। तर, समर्थनमा बोल्ने कोही नहुँदा यो विषय त्यतिकै रोकिएको थियो। शनिबारको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बन्दैछन्। प्रधानमन्त्री ओलीको शनिबार स्पेन जाने तयारी छ। उनी कार्यक्रमलाई सम्बोधन गरेर छिट्टै निस्कन सक्ने एमाले नेताहरूले बताएका छन्।