
सुनाखरी न्युज/ काठमाडौं ।
मुलुकका ७३ जिल्लामा डेंगी फैलिएको छ । मुलुकभर डेंगी संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या ६ महिनामा (जनवरीयता) १ हजार ४ सय ३ पुगेको छ भने संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार डेंगी पुष्टि भएर भर्ना भएका ६ जना बिरामी उपचार गराएर फर्किएका छन् । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले ओपीडीमा आउने बिरामीमध्ये दैनिक एकरदुई जनामा संक्रमण देखिएको बताए । ‘हरेक दिन एकरदुई जना डेंगी संक्रमित उपचारका लागि आउने गरेका छन्, सँगै मौसमी रुघाखोकीको उपचार गराउन आउने बिरामीको संख्या पनि त्यस्तै छ,’ उनले भने ।
रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । गत साता मात्र थप ४० जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमित सात प्रदेशमध्ये सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१, लुम्बिनीमा २ सय ४५, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जना रहेको ईडीसीडीले जनाएको छ । काठमाडौंमा सबैभन्दा बढी १ सय ५६ जना संक्रमित भेटिएका छन् ।
गत वर्ष डेंगी संक्रमित ३४ हजार नाघेको थियो । १३ को संक्रमणबाट मृत्यु भएको थियो । २०८० मा देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो । २० जनाको मृत्यु भएको थियो भने सन् २०१९ मा महामारीका रूपमा फैलिएको थियो । मुलुकमा डेंगी निरन्तर देखा पर्न थालेको २२ वर्ष बित्यो । आर्थिक वर्ष २०६०र६१ मा पहिलो पटक एक जनामा डेंगी संक्रमित भेटिएको थियो ।
उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेंगीका प्रमुख लक्षण हुन् । तर, सहरी क्षेत्रमा डेंगीको लक्षण देखिए पनि धेरैजसो बिरामीले परीक्षण नगराउने तर, जीउ, ढाड, टाउको दुखेको छ भन्दै सिटामोल खाने गरेको संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनको भनाइ छ ।