२०८३ बैशाख २५ , शुक्रवार

भरतपुरको बजेट गत वर्षभन्दा एक अर्ब कम

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिकाको बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्ब घटेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड जसमा घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागीता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडकबोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरेको छ ।

महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्व ५५ करोड ८५ लाख ९८ हजारको ल्याएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेस गरेको थियो । यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ । यसैगरी वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ ।

३८ प्रतिशत पूँजीगत खर्च

चालु आर्थिक वर्षमा चालु तर्फ २ अर्व ७३ करोड ५२ लाख ६२ हजार विनियोजन गरिएकोमा २०८२ जेठ सातासम्म १ अर्ब ८७ करोड ५५ लाख ९५ हजार अर्थात ६९ प्रतिशत र पूँजीगत तर्फ २ अर्व ७२ करोड ४८ लाख ८० हजार विनियोजन गरिएकोमा असार पहिलो हप्तासम्म १ अर्ब ३ करोड १६ लाख २ हजार अर्थात ३८ प्रतिशत बजेट खर्च भएको छ । चालु वर्षको जेठ मसान्तसम्म २ अर्ब ९० करोड अर्थात ५३ प्रतिशत खर्च भएको छ । अघिल्लो बर्ष यहीँ समयमा ५१ प्रतिशत बजेट खर्च भएको थियो । महानगरले आन्तरिक आम्दानी तर्फ १ अर्ब ८० करोडको लक्ष्य लिएकोमा २०८० जेठ मसान्तसम्म १ अर्ब १५ करोड १ लाख अर्थात ६४ प्रतिशत आम्दानी गरेको छ । संघीय तथा बागमती प्रदेशबाट प्रक्षेपित समानीकरण अनुदान ३७ करोड ६ लाख र ४ करोड ८१ लाख मध्ये जेठ मसान्तसम्म ३४ करोड र ३ करोड ६१ लाख आम्दानी गरेको छ ।