
सुनाखरी न्युज/ गोरखा ।
गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको छ । १७ औँ गाउँसभामा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
अध्यक्ष देवकोटाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन र बाल अधिकार संरक्षणलाई विशेष प्राथमिकतामा राखेको छ। ‘एक वडा, एक नमुना होमस्टे’ योजना र ‘बालमैत्री वडा घोषणाको तयारी’ कार्यक्रममार्फत गाउँको सामाजिक, आर्थिक र समावेशी रूपान्तरणको नीति तथा कार्यक्रम ल्याएको हो ।

प्रस्तुत दस्ताबेजमा स्थानीय उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य, सहकारी, रोजगारी र समावेशी विकासजस्ता क्षेत्रहरूलाई रणनीतिक प्राथमिकतामा राखिएको छ। गाउँपालिकाभित्र पाइने मौलिक संस्कृति, पुरातात्त्विक सम्पदा, हिमाली सौन्दर्य र जनजीवनमा आधारित पर्यटनलाई ग्रामीण अर्थतन्त्र सुदृढीकरणको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै पालिकाले प्रत्येक वडामा एक नमुना होमस्टे सञ्चालन गर्ने नीति अघि सारेको छ।
होमस्टे कार्यक्रमले पर्यटक भित्र्याउने माध्यम मात्रै नभएर गाउँमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने विकल्पको रूपमा पनि आफूलाई स्थापित गर्ने लक्ष्य लिएको अध्यक्ष देवकोटाले स्पष्ट पारे। साथै, गोठस्टे सञ्चालन, पदमार्ग निर्माण, सांस्कृतिक पदयात्रा, ऐतिहासिक स्थानहरूको संरक्षण, पर्यटकीय स्थलहरूको चिन्हांकन र पर्यटक सूचना पुस्तिका प्रकाशनजस्ता कार्यहरू पनि समावेश गरिएका छन्।
भच्चेक अस्पतालको सेवा विस्तार, आरोग्य केन्द्रको स्थापना, निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, मातृ-शिशु पोषण, सुरक्षित मातृत्व, किशोर-किशोरी स्वास्थ्य शिक्षा, योग तथा आयुर्वेद सेवाको विस्तार र डिजिटल स्वास्थ्य व्यवस्थापन प्रणाली लागू गर्ने योजना सार्वजनिक गरिएको छ।
बालमैत्री वडा घोषणाको तयारी यस वर्षको कार्यक्रममा अर्को प्रमुख आयामका रूपमा देखिएको छ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई व्यवहारिक शिक्षासँग जोड्न ‘एक विद्यालय, एक प्रयोगशाला’, ‘एक विद्यार्थी, एक बिरुवा’, करेसाबारी, मौरीपालन र स्थानीय उत्पादनमा आधारित पाठ्यक्रमको अभ्यास जस्ता कार्यक्रमहरू अघि सारिएका छन्। सामुदायिक विद्यालयलाई नमुना विद्यालयमा रूपान्तरण गर्ने र स्नातक तहसम्मको अध्ययनको पहुँच विस्तार गर्न क्याम्पस स्थापनाको तयारी समेत नीति तथा कार्यक्रममा समावेश छ।
स्थानीय उत्पादनको ब्राण्डिङ र व्यवसायीकरणमा पनि नीति केन्द्रित देखिन्छ। ‘घर उद्योग’ अवधारणाअनुसार कोदोको रक्सीलाई कानुनी, गुणस्तरीय र व्यवस्थित रूपमा उत्पादन गर्ने योजना छ।