
सुनाखरी न्युज/ काठमाडौं ।
हामी दैनिकरूपमा फलफूल उपभोग गर्छौं, तर त्यसभन्दा पहिले सफा गर्नका लागि प्रायः सबैले पानीले धोएर मात्र खाने गरेका हुन्छौं। तर विशेषज्ञहरू भन्छन् — केवल पानीले धोएर फलफूलमा रहेका कीटाणु, विषादी , वा स – साना कीरा पूर्णरूपमा हट्न सक्दैनन्। यी कीराहरू निकै खतरनाक हुन्छन् र पेटमा गएर गम्भीर समस्या सिर्जना गर्छन्। यस्तो अवस्थामा फुड प्वाइजनिङ हुन सक्छ । जसले लगातार बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने समस्या उत्पन्न गर्छ।
यसका अलवा फलफूल र तरकारीमा विषादी पनि हुन्छ । यी विषादीहरू खेतीको बेला कीरा मार्न प्रयोग गरिन्छन् । तर, सही तरिकाले सफा नगर्दा ती हाम्रो शरीरमा पुग्छन्। विशेषज्ञहरूले खाने कुरामा विषादीको अत्यधिक मात्राले क्यान्सरको जोखिम बढ्ने बताएका छन्। धेरै मानिसलाई लाग्छ कि पानीले धोएपछि फलफूल र तरकारीको फोहोर हटिसक्छ। तर, कीरा र विषादी पानीले मात्रै हट्दैनन्। यी आँखाले देख्न नसकिने तर, खतरनाक हुन्छन्। आयुर्वेदमा यसलाई सही तरिकाले सफा गर्ने उपाय बताइएको छ। आयुर्वेदिक विशेषज्ञ डा रेखा राधामोनीले यसको विधि सुझाएकी छन् । आउनुहोस् जानीराखौं :
यी खाद्य वस्तुहरूमा हुन्छ बढी फोहोर
अंगुर
आरु
स्ट्रबेरी
पालुंगो
केरा
स्याउ
फलफूल र तरकारी सफा गर्ने सही विधि :
१। एक भाँडोमा मनतातो पानी लिनुहोस् र त्यसमा थोरै बेसार मिसाउनुहोस्। यो मिश्रणमा फलफूल वा तरकारीलाई डुबाएर राम्ररी मोल्नुहोस्। यसले खतरनाक ब्याक्टेरिया र किटाणुहरूलाई नष्ट गर्छ।
२। ४ / १ को अनुपातमा पानी र स्याउको सिरका ( एप्पल साइडर भिनेगर ) मिसाउनुहोस्। यदि ४ गिलास पानी लिँदै हुनुहुन्छ भने १ गिलास स्याउको सिरका मिसाउनुहोस्। यस घोलमा फलफूल वा तरकारीलाई १० मिनेटसम्म डुबाएर राख्नुहोस्। यसले सबै फोहोर हटाउँछ।
३। यदि माथिका विधिले पनि तपाईं सन्तुष्ट हुनुहुन्न भने, थप एक कदम लिन सक्नुहुन्छ। २ कप पानीमा १ चम्चा बेकिङ सोडा मिसाउनुहोस्। फलफूल वा तरकारीलाई यसमा १० मिनेटसम्म डुबाएर राख्नुहोस्।