२०८३ बैशाख २२ , मंगलबार

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन मजदुरको मृत्यु, तीन गम्भीर घाइते

hewa-khola

सुनाखरी न्युज/ काठमाडौं ।

पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु भएको छ। शनिबार अपराह्न फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गतको अस्थायी बेलिब्रिज जडानको अन्तिम चरणमा पुग्दा अचानक पुल भाँचिएको हो। पुल भाँचिँदा काममा संलग्न मजदुरहरू खोलामा खस्दा ६ जना घाइते भएका थिए। घाइते सबै मजदुरलाई सुरुमा फिदिम अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित नोबल अस्पताल पठाइएको थियो।

नोबल अस्पतालमा उपचारको क्रममा बाराको सिमरा उपमहानगरपालिका–१२ का ३ जना मजदुर — रूपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए। घाइतेमध्ये अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते सबैलाई उपचारका लागि शनिबार राति नै पाँचथरबाट नोबेल अस्पाल विराटनगर पठाइएको थियो।शनिबार निर्माणकैक्रममा बेलिब्रिज खस्दा ६ जना मजदुर घाइते भएका थिए ।

मेची राजमार्गअन्तर्गत पर्ने हेवा खोलाको बेलिब्रिज निर्माण कार्य सडक डिभिजन इलामले गर्दै आएको थियो । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने यो पुल निर्माणकोक्रममा भाँचिएसँगै वर्षाको समयमा ताप्लेजुङसहित पाँचथरका केही गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुने जोखिम बढेको छ ।२०८० असारमा बाढीले पुल बगाएपछि राखिएको बेलिब्रिज २०८१ असोजमा आएको बाढीले फेरि बगाएपछि अहिले ह्युम पाइपको डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । पानी परेर खोला बढ्नासाथ डाइभर्सनबाट राजमार्ग सञ्चालन सम्भव नहुने जोखिम छ ।