२०८२ चैत्र ३ , मंगलबार

आशा रोप्दै, भविष्य बढाउँदैः संस्कृति स्कूलको वृक्षारोपण कार्यक्रम २०२५

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व वातावरण दिवसको उपलक्ष्यमा संस्कृति अन्तर्राष्ट्रिय विद्यालयले जेन गुडल संस्थान नेपालसँगको सहकार्यमा जुन ८, २०२५ मा शंखमूलको संयुक्त राष्ट्र पार्क नजिकै वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो। प्राथमिक विद्यालयका उत्साही विद्यार्थीहरूदेखि माध्यमिक कक्षाका विद्यार्थीहरू, र सहयोगी अभिभावकहरू देखि कर्मचारी सदस्यहरू सम्म, यस पहलले काठमाडौंमा हरियाली बढाउने प्रतिबद्धताका साथ सम्पूर्ण विद्यालय समुदायलाई एकजुट पारेको थियो। जेन गुडल संस्थान नेपालका वन निर्माता तथा ’द रिभोलुसन प्रोजेक्ट’का सह–संस्थापक आयुष देव पन्तले भन्नुभयो, “यो नयाँ रूख रोप्ने कार्य मात्र होइन, पुराना रूखहरू जोगाउने पहल हो। काठमाडौंका रूखहरू हराउँदै गएका छन् र हामी एक–एक रूख प्रायोजन गरी यस प्रयासबाट तिनलाई फिर्ता ल्याउने कोशिश गर्दैछौं।“

संस्कृति अन्तर्राष्ट्रिय विद्यालयले मिलेर संयुक्त राष्ट्र पार्कमा उन्नाइस विभिन्न स्वदेशी प्रजातिका १२३ वटा रूखहरू रोपे, जुन वृद्धि, आशा र सामूहिक जिम्मेवारीको शक्तिशाली प्रतीक थियो। यो केवल रूख रोप्ने अभियान मात्र नभएर वातावरणको हेरचाह कसरी गर्ने भन्ने व्यावहारिक पाठ पनि थियो। यस अभियानबाट विद्यार्थीहरूले माटो खनेर रूख रोप्ने मात्र होइन तर प्रकृतिलाई माया गर्ने, वातावरणको हेरचाह गर्ने र दिगो विकासको बारेमा पनि सिके। कक्षा १० का विद्यार्थी पार्थले भने “यस परियोजनाको शुरुवातपछि स्थानीय वातावरणमा सकारात्मक परिवर्तनहरू देख्ने आशा गर्छु।“ त्यसैगरी नवौं कक्षामा अध्ययन गरिरहेका आदितले भने “वातावरण संरक्षणमा योगदान दिएकोमा राम्रो महसूस गरिरहेको छु किनकि हामीले वन पुनस्र्थापना गर्नुपर्छ।“ यो पहल केवल एक पटकको गतिविधि मात्र नभएर, संस्कृति स्कूलको प्रेरणादायी कार्यमुखी शिक्षामा विश्वास दिने आदर्शहरू अनुसार निरन्तर जिम्मेवार नागरिक बनाउने प्रतिबद्धता हो।