२०८२ फाल्गुन २६ , मंगलबार

बर्दियामा आतंक फैलाउने चितुवा नियन्त्रणमा

chituwa1

सुनाखरी न्युज/ काठमाडौं ।

बर्दियाको गुलरिया नगपालिका- १ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको टोलीले पिँजडामार्फत चितुवा नियन्त्रणमा लिएको हो । जेठ १४ गते मात्रै गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

चितुवाको गतिविधि नजिकबाट निगरानी गर्न सामुदायिक वन क्षेत्रमा मचान पनि निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाका अनुसार दुई वटा क्रेजमा बाख्रा राखेर चितुवा फसाउने प्रयास भइरहेको छ। साथै, निकुञ्जबाट दुईवटा हात्ती परिचालन गरेर चितुवाको खोजी भइरहेको छ। चितुवाको त्रासले स्थानीयवासी दिनहुँको जीवनमा असहज बनेका छन्। गुलरिया–५ र ८ का बासिन्दा विशेषगरी साना बालबालिकालाई घरबाहिर पठाउन डराउन थालेका छन्।

बडघरका स्थानीय कालीबहादुर चौधरीका अनुसार चितुवा दिउँसै बस्तीमा पस्ने भएकाले सर्वसाधारण भयभीत छन्। यो घटना यस क्षेत्रको पहिलो होइन। गत वैशाख १५ मा गुलरिया–८ स्थित सयु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्काको पनि चितुवाको आक्रमणमा ज्यान गएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्फा हाम्फेले चितुवालाई डार्ट गन प्रयोग गरेर जीवितै नियन्त्रणमा लिने तयारी भइरहेको बताए। यस कार्यका लागि दुई जना पशु चिकित्सकसहित निकुञ्जका चार जना प्राविधिक र हात्तीहरू प्रयोगमा ल्याइएका छन्।