२०८२ फाल्गुन २७ , बुधवार

खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा दाजु–बहिनीको मृत्यु

gas

सुनाखरी न्युज/ काठमाडौं ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए ।आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो ।

त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको र सोनमको भैरहवामै मृत्यु भएको प्रहरीले जनाएको छ । चिकित्सकहरुका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको थियो । प्रहरीले घट्नास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक लालचन्द्र पाण्डेले जानकारी दिए ।