२०८२ फाल्गुन २६ , मंगलबार

पोखरामा तरबुजाखेतीः एक याममा दुई करोडको बिक्री

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवं स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजाखेती सम्बन्धमा धेरै कुरा सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुभयो । किसानले समूहगत रूपमा १४ रोपनीमा सामूहिक तरबुजाखेती गरेका छन् भने व्यक्तिगत रूपमा पनि ठाउँठाउँमा तरबुजाखेती गरिएको छ । यस वर्ष लगाइएको तरबुजाखेतीले किसानलाई उत्साहित बनाएको तथा खेतीको सम्भावना बढाएको बताउँदै उहाँले आगामी वर्ष यहाँका धेरै किसानले तरबुजाखेती गर्ने विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकाकी कृषि प्राविधिक उमा पुनका अनुसार तरबुजाखेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक आइतबार यहाँका किसानसँग कृषि प्राविधिकसहित स्थलगत अध्ययन–अनुसन्धान भइरहेको छ ।

आइपिएम कृषक पाठशालामा फलेका तरबुजामध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र बाँकी पनि बजार लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिनुभयो । महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजाखेती यस वर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले किसानलाई बीउ र मलचिङमा सहयोग गरेको छ ।महानगरपालिका वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उहाँले यस वर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर)को तरबुजा उत्पादन भएको जानकारी दिनुभयो । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि ‘स्टिकर’ तयार गरेको उहाँले जानकारी दिनुभयो । पोखरामा तरबुजाखेती एउटा विकल्पका रूपमा प्रमाणित भएको बताउँदै उहाँले यसले रोजगारी अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जातको तरबुजा पनि परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा र आसपासका क्षेत्रमा सरस्वती जातको तरबुजा उपयुक्त भएको जानकारी दिनुभयो । अन्य जातकोभन्दा यो स्वादिष्ट भएको उहाँको कथन छ ।

रासस