२०८२ फाल्गुन २३ , शनिवार

महासंघहरुको दवावपछि सुनचाँदी ब्यवसायलाई ब्यवस्थित गर्ने कानूनी प्रबन्ध गर्न संसदीय समितिले दियो वाणिज्य मन्त्रालयलाई निर्देशन (निर्णय सहित)

3

सुनाखरी न्युज/ काठमाडौं ।
सुनचाँदी ब्यवसायी महासंघहरुको निरन्तरको दवाव र पहलकदमी पश्चात सुनचाँदी ब्यवसायलाई ब्यवस्थित गर्ने कानूनी प्रबन्ध गर्न संसदीय समितिले वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकपछि समितिले उद्योग, वाणिय तथा आपूर्ति मन्त्रालयलाई सुनचाँदी ब्यवसायलाई थप ब्यवस्थित र मर्यादित बनाउने, सुनचाँदी, हिरा, जवाहरात तथा बहुमुल्य धातुको आयात प्रणालीलाई ब्यवस्थित गर्ने, धातुजन्य तयारी गरगहनाको निर्यात प्रवद्र्धन गर्ने, खरिद तथा विक्रीलाई डिजिटल प्रणणलीमा आवद्ध गर्ने लगायतका बिषय समवेस गरी कानूनी प्रबन्ध गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिले सुनचाँदीको शुद्धता मापनका लागि आवश्यक प्रवन्ध गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि नेपालमा सुनचाँदी ब्यवसायलाई नियमन एवं ब्यवस्थित गर्ने नीति नियम तथा कानूनको अवस्थामा सम्वन्धमा समितिमा सरोकारवाला निकायसँग छलफल भएको थियो ।

 

छलफलमा समितिका सभसापति एवं सदस्यहरुको साथै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी लगायत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी लगायतको सभागिता रहको थियो ।

वाणिज्यमन्त्री भण्डारीले सुनचाँदी व्यवसाय व्यवस्थापन र नियमन सम्बन्धी मन्त्रालयको प्रतिवेदन संसदीय समितिका सभापति अब्दुल खानलाई हस्तान्तरण गर्नुभयो।

त्यसक्रममा  वाणिज्यमन्त्री भण्डारीले सुनचाँदी गरगहना कारोबार र गुणस्तरका लागि सरकार शून्य सहनशीलताका साथ प्रस्तुत हुने बताउँदै सुनचादी गुणस्तर मापनका लागि अत्याधुनिक जाँच मेसिन निकट भविष्यमै आइपुग्ने बताउनुभयो ।

सुनचाँदी ब्यवसाय सँग सम्वन्धित विभिन्न क्षेत्रका ब्यवसायीहरुको समेत सहभागिता रहेको सो छलफलमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फवाट नेपालमा सुनचाँदी ब्यवसायलाई नियमन एवं ब्यवस्थित गर्ने नीति नियम तथा कानूनको अवस्थाका सम्बन्धमा हालसम्म ब्यवसायीका तर्फवाट तयार गरिएको दस्तावेज समितिका सभापति अब्दुल खानलाई हस्तान्तरण गरिएको थियो ।

त्यसक्रममा महासंघका कार्यवाहक अध्यक्ष दियेसरत्न शाक्यले प्रष्ट ऐन कानूनको अभावमा ब्यवसाय सञ्चालनमा नै समस्या आएको भन्दै सिघ्र ऐन तथा नीति, नियम एवं निर्देशिका ल्याउन आग्रह गर्नुभयो । उहाँले पुरानो पुस्ताले जस्तो नयाँ पुस्ताले झमेला , जोखिम र अनिश्चितता बोकेर व्यवसाय सम्हाल नसक्ने भएकोले व्यवसायमा विदेशिन खोज्ने युवालाई आकर्षित गर्न पनि समय सापेक्ष ऐननियमको खाँचो औंल्याउनु भयो ।

नेपाल सुनचाँदी तथा रत्न आभूषण महासङ्का अध्यक्ष किसान सुनारले व्यवसायीहरूले भोग्नुपरेका समस्याहरू उल्लेख गर्दै यसको समाधानका लागि एवं सुनचाँदी व्यवसायको विकासमार्फत राष्ट्रिय अर्थतन्त्र दरिलो बनाउन पनिसमय सापेक्ष ऐन नियमको आवश्यकता रहेको बताउनुभयो।

छलफलका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी सँग सम्वन्धित कानुन निर्माणको क्रममा रहेको बताउनुभयो । त्यसक्रममा सहभागी साम्सदहरुले सुनचाँदी कारोबार सम्वन्धी कानुन सिघ्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
त्यस अवसरमा महासंघका तर्फवाट महाससचिव किरणभाई बज्राचार्य, कोषाध्यक्षक सुदिप श्रेष्ठ लगयातका ब्यवसायीहरुको सहभागिता रहेको थियो ।