२०८२ फाल्गुन २३ , शनिवार

आजदेखि भारतमा विद्युत् निर्यात सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले भारत विद्युत् निर्यात सुरु गरेको छ । शनिबार रातिबाट भारतमा विद्युत् निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिए । शनिबार राति २ सय मेगावाट विद्युत् निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी निर्यात भइरहेको उनले बताए ।केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत् निर्यात गर्न थालेको हो । भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत मिलेको छ । पिक डिमान्ड भएको समय र दिनमा भने अझै पनि भारतबाट विद्युत् आयात भइरहेको छ । मंगलबार भारतबाट २ सय ७८ मेगावाट विद्युत् आयात भएको उनले बताए ।

गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युत्‌को परिमाण बढी भएको थियो । अर्थात्, नेपाल खुद विद्युत् निर्यातक बनेको थियो ।यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ विद्युत् निर्यात निर्यात सुरु गरेको बताएका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियान भएको उनले बताए । विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता कुराको कुनै तथ्य नपाइएको उनले बताए। मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कहीँ विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको जिकिर गरे।