
सुनाखरी न्युज/ काठमाडौं ।
कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको छलफलमा प्रदेशसभाका सांसदहरू कमजप्रसाद जबेगु, विदुरकुमार लिङथेप, बाबुराम गौतम, राजेन्द्र कार्की, सपना दर्जी, प्रदीपकुमार सुनवार, विनोद राई, खगेश्वरी पौडेल, होमबहादुर थापालगायतले आ–आफ्नो धारणा राख्नुभयो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समसामयिक विषयमा उठेका जिज्ञासाको जवाफमा प्रदेश सरकार संविधान र कानुनको दायराभित्र रही काम, कर्तव्य र अधिकार प्रयोगमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँले भर्खरै कोशीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको जनाउँदै शान्ति सुरक्षा, मौद्रिक नीति, परराष्ट्र नीतिलगायत क्षेत्र सङ्घीय सरकारको मातहत रहने भएकाले सोही मान्यताअनुसार सुरक्षा बैठक सम्पन्न भएको स्पष्ट पार्नुभयो ।
उक्त गोष्ठीमा सुरक्षा निकायलाई सरकारले आवश्यक निर्देशन दिएको बताउँदै मन्त्री भण्डारीले यही जेठ ५ गते मोरङको कानेपोखरीमा प्रदेशसभाका सांसद सवार सवारी दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको स्पष्ट पार्नुभयो ।उहाँले चार जना सांसदमा दुई जना उपचारपछि घर फर्किनुभएको जनाउँदे दुई जना उपचाररत रहनुभएकाले सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले घाइते सांसदद्वयको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । मन्त्री भण्डारीले गत वर्षमा बाढी र पहिरोबाट कोशी प्रदेशमा रु चार अर्ब ६२ करोड बराबरको क्षति भएकामा सरकारले चालु खर्चमा कटौती गरी रु ४० करोड बराबरको राहत वितरण र निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय व्यवस्थित गर्ने प्रयास भइरहेको भन्दै विद्युतीय प्रणालीबाट कर भुक्तानी र सवारी अनुमतिपत्र एक महिनामा प्रदान गर्ने व्यवस्था सरकारले मिलाइसकेको जानकारी दिनुभयो ।यसअघि आजको बैठकको शून्य समयमा सांसदहरू खिनु लङवा लिम्बू, गोम्बु शेर्पा, सम्झना तामाङ थाम्साङ, तिलचन पाठक, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद मेहता, र कमलप्रसाद जबेगुले मुलुकको समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।
रासस