
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिगषद् बैठक बोलाइएको बोलाइएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए ।
लगत्तै बैठक बोलाइएको हो । नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
बैठकबाट आज नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । यद्यपि, यो समाचार तयार पार्दासम्म गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिको बैठक भने बसेको छैन ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । १० चैतमा सिफारिस समिति गठन गरिए पनि एकपटक पनि बैठक बस्न सकेको थिएन ।
समिति गठनको करिब दुई महिनापछि मंगलबार अपराह्न ४ बजे समितिको बैठक बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।
५ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएकाले सम्भवतः आजै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त हुने सम्भावना छ ।
अर्थमन्त्रीको अध्यक्षताका हुने सिफारिस समिति दुईपटक पुनर्गठन भइसकेको छ ।