२०८२ फाल्गुन २६ , मंगलबार

गर्मी लाग्यो, सेवन गर्नुस् पाचनशक्तिका लागि ६ थरी तरकारी

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

गर्मी मौसममा पाचन प्रकिया कमजोर हुन्छ, रोगको संक्रमण हुने जोखिम बढ्छ । खानपानमा हुने थोरै मात्र असावधानीले पनि यो मौसममा रोगको संक्रमण हुने सम्भावना अत्यधिक हुने गर्दछ । त्यसैले यो मौसममा धेरै तारेको, भुटेको खानेकुरा नखानु नै उत्तम हुन्छ । तारेको तथा भुटेको खानेकुराका कारण फुड पोइजनिङ्ग हुने सम्भावना पनि धेरै हुन्छ । गर्मी मौसममा धेरै प्रकारका तरकारीहरू पाइन्छन् । केही त्यस्ता तरकारीहरू पनि छन्, जसलाई गर्मी मौसममा नखानु नै स्वस्थकर मानिन्छ । ति तरकारीहरू जाडो महिनामा जति फलदायी हुन्छन् गर्मीमा त्यसले डबल बेफाइदा गराउँछन् ।

 गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ :-

१ . लौका – लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

२ .करेला -खाँदा तीतो भए पनि करेलाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । करेला सजिलै पच्ने भएकाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । करेलामा पर्याप्त मात्रामा फस्फोरस हुन्छ, यसको सेवनले कफको समस्या कम हुन्छ । करेलामा प्रोटिन, क्याल्यिसम, कार्बोहाइड्रेट, फोस्फोरस तथा भिटामिन प्रशस्त पाइन्छ । यसको सेवनले शरीरको पाचन शक्ति बढछ, जसले गर्दा भोक लाग्ने गर्छ । करेला चिसो प्रकृतिको हुने भएकाले गर्मी मौसममा करेलाको सेवन राम्रो मानिन्छ ।

३ .सिमी -हरेक प्रकारका सिमीको सेवनले शरीरलाई जरुरी पोषण प्राप्त हुन्छ । सिमी लगायतका ग्रीन विन्समा भिटामिन ए, सी तथा भिटामिन  बी ६ पर्याप्त मात्रामा पाइन्छ । ग्रीन विन्स फोलिक एसिडको राम्रो स्रोत हो । त्यसबाहेक यसमा क्याल्सियम, सिलिकन, आइरन, म्याग्नेसियम,  प्रोटिन, पोटासियम तथा कपर पनि पाइन्छ । यसमा पाइने एन्टी अक्सिडेन्टले इम्युन सिस्टम बलियो बनाउन मद्दत गर्छ । यसले कोषिकाको  क्षति कम गरी नयाँ कोषिका निर्माण गर्न मद्दत गर्छ ।

४  .फर्सी- गर्मी मौसममा फर्सी खानुको फाइदा विशेष छ । खनिज पदार्थ प्रशस्त पाइने भएकाले फर्सी सेवन गर्दा शरीरमा भएका विषाक्त तत्व   बाहिर निस्कन्छन् । यसको वियाँको सेवन प्रोस्टेट क्यान्सरका विरामीहरूको लागि लाभदायक मानिन्छ । यसमा प्रशस्त मात्रामा आइरन,   म्याग्नेसियम, सेलेनियम तथा फोस्फोरस हुन्छ । जो व्यक्तिहरूको पेटमा गर्मी गढेको हुन्छ तथा मौसम अनुसार पेटमा गडबडी हुन्छ, त्यस्ता   व्यक्तिहरूका लागि फर्सीको सेवन निकै फाइदाजनक मानिन्छ ।

५  .गोलभेँडा -गर्मीमा दैनिक एउटा गोलभेँडाको सेवनले पनि थुपै्र रोगबाट बचाउँछ । गोलभेँडामा भिटामिन ए, सी, फोलेट, पोटासियम,   फाइबर  जस्ता एन्टी अक्सिडेन्ट तत्व पाइन्छन् । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ भने रक्तचाप पनि नियन्त्रित   हुन्छ ।  मुटुका रोगीहरूका लागि त यो निकै लाभदायक मानिन्छ ।

६ .प्याज – गर्मी मौसममा प्याज सेवन स्वास्थ्यका लागि लाभदायी र प्रभावकारी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको   मात्रा हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ। गर्मीमा काँचो प्याज खानाले लू  नलाग्ने स्वास्थ्यकर्मी सुझाउँछन्। यसलाई तरकारीको रुपमा मात्र नभई काँचै सलादका रुपमा खान सकिन्छ।

( थप :- गर्मी मौसममा तीतो, हरियो तरकारी,काँक्रो, कुरिलो, मटरकोसा, आलु, गेडागुडी, धनियाँ, जस्ता तरकारी खान उपयुक्त हुन्छ । )