२०८२ चैत्र ६ , शुक्रवार

उद्यमशीलता, नवप्रवर्तन तथा लघु ऊद्यमको सशक्तिकरण गर्ने बारेमा नेपाली कांग्रेसको जोड

Capture

सुनाखरी न्युज/ काठमाडौं।

उद्यमशीलता, नवप्रवर्तन तथा लघु ऊद्यमको सशक्तिकरणका विषयमा नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र ऊद्यमशील कांग्रेसको संयुक्त आयोजनामा “नीति तथा बजेट संवाद कार्यक्रम” सम्पन्न भएको छ । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा उद्यमशीलताका बहुआयामिक सवालमा गहन संवाद तथा अन्तरक्रिया भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा अथाह सम्भावना भएको जलविद्युत, कृषि लगायतका क्षेत्रलाई महत्व दिदै सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले अर्थतन्त्रमा दोश्रो तहको सुधार भए मात्र देश समृद्ध हुनसक्ने बताउनुभयो । सार्वजनिक महत्वका पूर्वाधार निर्माण र मर्मतमा सरकारले ध्यान दिनुपर्ने उहांको भनाई थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले युवा पुस्ताले आफ्नै देशमा सम्भावना खोज्ने प्रयास गर्नुपर्ने बताउनुभयो । त्यसका लागि नीति निर्माण तहमा बसेकाले समेत वातावरण निर्माण गर्नुपर्ने र शिक्षालाई व्यवसायमुखी बनाइनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र बिभाग प्रमुख अजय बाबु शिवाकोटीले उद्यमशीलता बारेको छलफलका क्रममा उठेका बिषयवस्तुलाई नेतृत्व तहसम्म पुर्याइने बताउनुभयो । योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले नेपालको कानुन उद्योगमैत्री भएपनि कार्यान्वयन पक्ष कमजोर भएको भन्दै समग्र देशलाई नै माथि उठाउने किसिमको सशक्त योजनाको खांचो औंल्याउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मनोज पौडेलले आर्थिक सुशासन र सार्वजनिक निकायप्रति आम मानिसको विश्वास नभएसम्म सफल हुन नसकिने बताउनुभयो । प्रत्येक गाउ र पालिकामा गएर उद्यमशीलता प्रबर्द्धन गर्न आवश्यक रहेको उहाको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रञ्जित आचार्यले स्टार्टअपका लागि कर्जा प्रवाह गरेर मात्रै राज्यको दायित्व नसकिने भन्दै यस क्षेत्रमा हात समातेर नै डोहोर्याउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक विकास प्रतिष्ठानका इन्जिनियर उमेश गुप्ताले सरकारले उपलब्ध गराउने स्टार्टअप कर्जाबारे जानकारी दिनुभएको थियो । उद्यमशिल कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशिलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफल मार्फत साझा धारणा बनाउने उद्देश्यले छलफलको आयोजना गरिएको बताउनुभयो । उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरुलाई निरन्तर रुपमा उठान गरिरहने र आगामी दिनमा सरोकारवाला पक्षसंग छलफल जारी राख्ने बताउनुभयो । कार्यक्रममा नवउद्यम क्षेत्रका विज्ञ कविराज जोशी, ट्याक्स अड्भोकेट प्रतिष्ठा भण्डारी, आकाश सुवेदी, लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा उद्यमशीलता क्षेत्रमा कार्यरत जेन जी पुस्तादेखि नीति निर्मातासम्मको उपस्थिती थियो ।