२०८२ फाल्गुन २७ , बुधवार

भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण, दुई बालबालिकासहित सात जनाको ज्यान गयो

india-pakistan

सुनाखरी न्युज/ काठमाडौं।

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ । अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी शिविरलाई लक्षित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनाको भनाइ छ ।

भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको बताइएको छ ।

यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ । भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्दै र बलियो जवाफ दिने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, “दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।”