
सुनाखरी न्युज/ काठमाडौं।
सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले मृतकमा १६ हजार दुई सय ७८ बालबालिका रहेका र तीमध्ये नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुहरू जन्म पछि मरेको बताउनुभयो । आवश्यक स्वास्थ्य सेवामा बाधा पु¥याउँदै इजरायलले मार्चको सुरुमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको उहाँले प्रकाश पार्नुभयो ।
यसले हजारौँ बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ । इजरायलले पूर्वाधारलाई लक्षित गरेको र सहयोग अस्वीकार गरेको कारण धेरै बालबालिका स्वच्छ पिउने पानी र उचित पोषणमा सीमित पहुँचका साथ दिनको एउटा मात्र अपूर्ण खानामा बाँचिरहेको उहाँले बताउनुभयो ।उहाँका अनुसार हजारौँ बालबालिका आधारभूत आवश्यकताबिना विस्थापन केन्द्रमा बसिरहेका छन् भने गर्भवतीहरूले अस्पताल पुग्न महत्त्वपूर्ण चुनौतीको सामना गर्नुपरेको छ । हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो । पक्षहरू गतिरोधमा रहेका कारण दोस्रो चरण अझै साकार हुन सकेको छैन ।
रासस\सिन्ह्वा