२०८२ फाल्गुन २८ , बिहिवार

काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यका अन्तर्गत चक्रपथ बाहिरका क्षेत्रहरूमा पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वनय निर्देशनालय (पीआईडी) का अनुसार काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत चक्रपथ बाहिरका क्षेत्रहरूमा पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने छ ।नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्ची पानी वितरणको सञ्जाल निर्माण गर्न लागिएको आयोजना उपनिर्देशक एवम् प्रवक्ता इन्जिनियर विकेस बधानथाछेले जानकारी दिए । जसअन्तर्गत बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका लगायत क्षेत्रहरू हुन् । आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३० किलोमिटर, कीर्तिपुर, काठमाडौं र चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५.९८ किलोमिटर, मध्यपुर थिमि नगरपालिका क्षेत्रमा ३०८.१५ किलोमिटर, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २००.२३ किलोमिटर र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ किलोमिटर गरी गरी कुल ८७५.४ किलोमिटर खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको छ ।जसअन्तर्गत वितरण सञ्जालका ८२८.९२ किलोमिटर पीई पाइप र ४६.४८ किलोमिटर डीआई पाइप बिच्छ्याइने छ ।

आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण सुरू भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ । यसअघि, काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौं उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइप लाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिब ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।यसैगरी, आयोजनाको पहिलो चरणमैं काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किलोमिटर पाइप लाइन बिच्छाउने कार्य समेत सम्पन्न भएको आयोजना उपनिर्देशक बधानथाछेको भनाइ छ ।