
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शाखाको ५१औँ वार्षिक साधारणसभाका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार उक्त प्रयोगशालाको उद्घाटन गर्नुभयो ।भौतिक मन्त्रालयअन्तर्गत रहेको निर्माण व्यावसायी महासङ्घको कोषबाट रु ६० लाख तथा नेपाल रेडक्रस सोसाइटीको रु १५ लाखमा उक्त प्रयोगशाला निर्माण गरिएको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिनुभयो । आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि सङ्कलित रगतलाई एक वर्षसम्म सुरक्षित भण्डारण गर्न सकिने उहाँले बताउनुभयो । रगतका विधिन्न तत्वलाई छुट्टयाउने उपकरण जडान गरिएको उल्लेख गर्दै उहाँले यसको सहयोगमा रगतमा भएका राता रक्तकोष, सेता रक्तकोष, प्लेटलेस र प्लाज्मालाई छुट्याउन सकिने बताउनुभयो । रेडक्रसले जिल्लामा ६ रक्तसञ्चार सेवा मार्फत रगत व्यवस्थापन गर्दै आएको छ ।
रासस