
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्व राष्ट्रपतिको महाभियोगबाट सुरु भएको आकस्मिक चुनावमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हान डक–सूले शुक्रबार राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । दक्षिण कोरियालाई लामो राजनीतिक उथलपुथलमा डुबाएको डिसेम्बरमा मार्सल लको दुर्भाग्यपूर्ण घोषणापछि जुन ३ मा हुने मतदानले पदबाट हटाइएका महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक योललाई कसले प्रतिस्थापन गर्ने भन्ने निर्णय गर्नेछ । चुनावी कानून उल्लङ्घन गरेको आरोपमा राष्ट्रपति पदका उम्मेद्वारलाई पुनः सुनुवाइको आदेश दिएपछि र हानसहित दुई प्रमुख सरकारी व्यक्तित्वले राजीनामा दिएपछि बिहीबार देशमा राजनीतिक अस्थिरता बढेको छ । हानले बिहीबार कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा राजीनामा गर्दा सम्भावित राष्ट्रपतिको उम्मेदवारी दिने सङ्केत गर्नुभएको थियो । उहाँले ‘ठूलो जिम्मेवारी लिन’ इच्छुक रहेको बताउनुभएको थियो ।
“मैले गहिरो रूपमा माया गरेको कोरिया गणतन्त्रको भविष्यका लागि र हामी सबैका लागि, मैले जे गर्न सक्छु गर्ने निर्णय गरेको छु”, हानले शुक्रबार टेलिभिजन भाषणमा भन्नुभयो, “यो राष्ट्रपति चुनावमा हाम्रा जनताले रोज्नका लागि म सक्दो प्रयास गर्नेछु ।”डिसेम्बरमा संसद्ले युनलाई महाभियोग लगाएपछि पूर्व प्रधानमन्त्री हानले देशको कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको थियो ।पचहत्तर वर्षीय करियर ब्युरोक्र्याट हानले युनको पिपुल पावर पार्टीसँग मिलेर लिबरल फ्रन्ट रनर ली जे–म्युङ विरुद्ध एकीकृत कन्जरभेटिभ अभियान सुरु गर्ने अपेक्षा गरिएको छ । उदार र कन्जरभेटिभ दुवै सरकारमा हानले अर्थमन्त्री, व्यापार मन्त्री र अमेरिकाका लागि देशको राजदूतसहित धेरै वरिष्ठ भूमिका सम्हाल्नुभएको छ । विशेष गरी हानले दुई पटक प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको छ । पहिलो स्वर्गीय पूर्व राष्ट्रपति रोह मो–ह्युनको अधीनमा र हालसालै युनको अधीनमा ।
“मैले गणतन्त्र कोरियाको गौरवशाली सार्वजनिक सेवकका रूपमा आर्थिक विकासको अग्रपङ्क्तिमा सेवा गर्न मेरो जीवन समर्पित गरेको छु”, हानले भन्नुभयो । उहाँले वासिङ्टनको करहरू समावेश भएको व्यापारमा चलिरहेको सङ्कटलाई सम्बोधन गर्ने वाचा गर्नुभयो । उहाँले राष्ट्रपतिको कार्यकाल छोटो गर्न संविधान संशोधन गर्ने वाचा पनि गर्नुभयो । दक्षिण कोरियाको एकल पाँच वर्षे राष्ट्रपति कार्यकालले लामो समयदेखि एक व्यक्तिमा अत्यधिक शक्ति केन्द्रित गरेकोमा आलोचनाको सामना गरिरहेको छ । आलोचकहरूले यसलाई पर्याप्त नियन्त्रण र सन्तुलनको अभाव भएको आरोप लगाएका छन् । हानको घोषणा देशको सर्वोच्च अदालतले अघिल्लो अभियानका क्रममा झूटो बयान दिएकोमा दोषी नभएको फैसला खारेज गरेको एक दिनपछि आएको छ । सोही दिन हानलाई कार्यवाहक राष्ट्रपतिका रूपमा प्रतिस्थापन गर्न तयार भएका अर्थमन्त्री चोई साङ–मोकले विपक्षी सांसदहरूले मार्सल ल घटनामा संलग्न भएको आरोपमा उहाँको महाभियोगमा मतदान गरेपछि राजीनामा दिनुभयो ।चोईको राजीनामापछि महाभियोग प्रक्रिया स्थगित गरिएको थियो ।
रासस/एएफपी