
सुनाखरी न्युज/ काठमाडौं ।
इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका सङ्कट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरना समाचार एजेन्सीले जनाएको छ । अधिकारीहरूले आगलागीमा एक हजार भन्दा बढी व्यक्तिहरू घाइते भएको बताएका छन । हसनजादेहले अधिकाशं घाईतेहरु उपचार पछि फर्किइएको तथा १३८ जना घाइतेहरू अझै अस्पतालमा उपचाररत रहेको उल्लेख गर्नु भएको छ । इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउदै आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्याङ्कन गरिने जनाएको छ । आगो निभाउनको लागि अग्निनियन्त्रण यन्त्र (दम्कल) तथा हेलिकप्टर परिचालन गरि रहेको टेलिभिजन फुटेजकमा देखाइएको छ । बन्दरगाह स्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण एकिन नभए ता पनि रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको हुन सक्ने जनाएको छ । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिनु भएको छ ।
सामाजिक सञ्जाल तथा सिसिटिभीमा देखाइएको भिडियोमा सानो आगो धुवाँको साथ घटना बिस्तारै सुरु भएको देखाइएको छ । गोदामको छेउमा केही कन्टेनरहरू बिचबाट सुरु भएको सानो आगोले ठुलो रुप लिएको देखाइएको छ । राष्ट्रपति मसूद पेजेस्कियनले अब्बासमा घाइतेहरूलाईे भेट्न अस्पतालमै पुगेको जनाइएको छ । अधिकारीहरूले यस क्षेत्रका सबै विद्यालय तथा कार्यालयहरू बन्द गर्न आदेश दिएका छन् भने बासिन्दाहरूलाई “अर्को सूचना नभएसम्म“ सुरक्षित रहन आग्रह गरिएको छ । रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई–निकले यस क्षेत्रमा सैन्य इन्धन वा सैन्य प्रयोगका लागि कुनै आयात / निर्यात नगरिएको बताउनु भएको छ । रूसले आगो नियन्त्रणको लागि सहयोग गर्न विशेषज्ञहरू पठाएको छ । अधिकारीहरूले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका छन् भने बन्दरगाहको होर्मोजगन प्रान्तमा आइतबार देखि नै तीन दिनको शोक सुरु भएको छ । तेहरानमा आयोजित उच्चस्तरीय वार्ताका लागि ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरू भेटवार्ता गर्दै गर्दा विस्फोट भएको थियो ।
रासस/एएफपी