२०८२ फाल्गुन २९ , शुक्रवार

जंगलमा भाउजुको हत्या गरेर देवरले गरे आत्महत्या

death

सुनाखरी न्युज/ काठमाडौं ।

खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक ( डीएसपी)  प्रतीक विष्टले बताए। सरिताको घाँटी लगायत विभिन्न ठाउँमा चोट थियो।

सरिताको शव फेला परेको स्थाननजिकै शिखर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। शिखर र सरिता देवर–भाउजू नाता पर्ने वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए। उनीहरू सँगै घाँस काट्न गएका थिए। गएको फागुन १३ गते दिउँसो २ बजेतिर सरिता र शिखर घाँस काट्न दारेगौँडा जंगलतिर लागेको तर भोलिपल्ट बिहान ३ बजेसम्म नफर्केपछि खोजी सुरु भएका थियो। बिहान ६ बजेतिर घरभन्दा तलको जंगलमा सरिताको शव फेला पर्‍यो।

सरिताको धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिन्थ्यो। उनको घाँटीमा गहिरो चोट थियो। टाउकोमा ५ ठाउँमा र नाडीमा पनि दुई ठाउँमा खुकुरीले हानेको डोब थियो। नजिकै एउटा रुखमा शिखर पनि झुण्डिएको अवस्थामा फेला परे। उनीहरूले घाँस काट्न भनी लगेका नाम्ला डोरी र कचिया खुकुरी पनि त्यहीँ नजिकै थिए। खुकुरी दापमै थियो। तर रगत लागेको अवस्थामा थियो। शिखरको देब्रे हातमा पनि रगत लागेको थियो। एउटा चप्पल भुइँमा र एउटा उनकै खुट्टामा थियो। त्यसपछि गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए।