
राजधानी राष्ट्रिय दैनिकले पत्रिकाको मूल्य ह्वात्तै बढाएको छ । राजधानी न्युज पब्लिकेशन प्रालिले पत्रिकाको मूल्य एकैचोटी पाँच गुणा बढाएको हो । यसअघि १० रुपैयाँमा पत्रिका बिक्री गर्दै आएको राजधानी न्युज पब्लिकेशन प्रालिले अब बढाएर ५० रुपैयाँ पुर्याएको छ ।राजधानी दैनिकले शुक्रबारदेखि मूल्य बढाएर ५० रुपैयाँ बनाएको हो। बिहीबारसम्म यसको मूल्य १० रुपैयाँ थियो। अग्र पृष्टमा ‘बिक्दै नबिक्ने पत्रिका, न बिक्छ, न त झुक्छ’ नारासहित प्रकाशकीय लेखेर पत्रिकाले मूल्य बढाएको जानकारी दिएको हो।
५ रुपियाँ दाम रहेको पत्रिका एकाएक ५० रुपियाँ बनाएर नयाँ र अनौठो सन्देश दिइएको छ। उसले फ्रन्टपेजमा नै ठूलो विज्ञापन राखी ‘विक्दैन तर झुक्दैन’ भनी मूल्य बढाएको जनाएको छ। यो निर्णयसँगै राजधानी दैनिक नेपालको सबैभन्दा महँगो ब्रोडसिट बनेको छ। यसपछि कान्तिपुर, नयाँ पत्रिका दैनिकको १० रुपियाँ छ भने अन्य ५ रुपियाँमा बजारमा किन्न पाइन्छ।
मूल्य समायोजनले पाठक वर्गलाई केही असुविधा भए पनि निडर भई सत्यतथ्यमा आधारित रहेर अरूभन्दा भिन्दै समाचार प्रेषित गरी पाठकको सुसूचित हुने अधिकारको ग्यारेण्टी गर्ने पत्रिकाले दाबी गरेको छ। विगतमा प्रकाशकहरूले मूल्यवृद्धि एकमुष्ठ ढंगले गर्ने गरेका थिए। तर यसपटक राजधानीले एक्लै मूल्यवृद्धिको निर्णय लिएको हो। राजधानी दैनिकमा रहेको सम्पादकीय नेतृत्वमा रहेका एक पत्रकारका अनुसार प्रकाशकले महँगी बढेकै कारण मूल्य बढाउनु परेको बताएका छन्।