
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ बर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा फेमार ( शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् ।
राष्ट्रपतिले नेपाल बहुजाती, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका बताए ।
राष्ट्रपति पौडेलल भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको बताउँदै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, सम्वर्धन र विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका उल्लेख गरे।