
सुनाखरी न्युज/ काठमाडौं ।
सांसद वासुदेव घिमिरेले धार्मिक पर्यटनको प्रवर्द्धनले मुलुकको आर्थिक वृद्धिमा टेवा पु¥याउने भएकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “नेपालको लुम्बिनी, मुक्तिनाथ, पाथीभरा, पशुपतिनाथ, मनकामनालगायत थुप्रै ठाउँ पर्यटकलाई देखाएर धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यसका लागि भौतिक पूर्वाधारको विकास आवश्यक छ ।” सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका–१२ मा बाढीको जोखिम रहेकाले यथाशिघ्र तटबन्धन निर्माण गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “चहरनावा खोलामा बाढी आयो भने उक्त पालिकाका ४ वटा गाउँसमेत बगाएर लानेछ । वर्षाभन्दा अघि तटबन्धन निर्माण गरिनुपर्छ, नभए ठूलो जनधनको क्षति हुन्छ ।” सांसद सीताकुमारी रानाले सडक दुर्घटना बढ्दै गइरहेकाले रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । “ट्राफिक नियमनको उल्लङ्घन, सडकका खाल्डाखुल्डी, जथाभावी बाटो काट्ने प्रवृत्तिले सडक दुर्घटना बढिरहेको छ । यी समस्या समाधानका लागि प्रभावकारी नीति र त्यसको प्रभावकारी कार्यान्वयनको आवश्यकता छ ।”
रासस