२०८२ चैत्र २ , सोमवार

अध्यक्ष नेपालद्वारा दुःख प्रकट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति दुःख प्रकट गर्नुभएको छ । अध्यक्ष नेपालले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरी प्रगतिशील तथा वामपन्थी आन्दोलनका नेता सापकोटाको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । लोकतन्त्र स्थापनाका लागि सापकोटाले पु¥याएको योगदानको स्मरण गर्दै उहाँले कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा देशले असल र इमान्दार नेता गुमाएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनप्रतिनिधिका रुपमा उहाँले नेपालको प्रगतिशील आन्दोलन, समाज विकास र रुपान्तरणमा गर्नुभएको योगदानलाई उच्च सम्मानसहित स्मरण गर्दै आदर्शको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । कलेजोसम्बन्धी रोगले ग्रस्त ५९ वर्षीय सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड अस्पतालमा देहावसान भएको हो । उहाँको श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । सापकोटाको निधनका कारण प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । बैठक शुक्रबार र शनिबार बस्ने जनाइएको छ ।

रासस