२०८२ चैत्र २ , सोमवार

नवौं निर्वाचन दिवसका अवसरमा प्रकाशित प्रेशबिज्ञप्ति तथा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाज्यूले दिनु भएको शुभकामना सन्देश

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

निर्वाचन आयोगले सम्बत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । यस बर्षको नवौँ निर्वाचन दिवस,२०८१ “निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता” भन्ने मूल नाराका साथ फागुन ६, ७ र ८ गते निर्वाचन आयोग र सबै निर्वाचन कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । यसै क्रममा निर्वाचनसँग सम्बन्धित विभिन्न ५ वटा बिषयहरु (निर्वाचन सुधारको मार्गचित्र, निर्वाचनमा सामाजिक सञ्जाल एवम् कृत्रिम बौद्धिकताको प्रयोग र प्रभाव, निर्वाचन व्यवस्थापनमा नागरिक सहभागिता, निर्वाचन र राजनीतिक दल र निर्वाचन र आम सञ्चार) मा बिषय बिशेषज्ञहरु र आयोगका पदाधिकारीहरु सम्मिलित परिसंवाद कार्यक्रम आयोजना गरिएको थियो । आज २०८१ फागुन ७ गते बुधवार आयोगको सभाहलमा आयोगका पदाधिकारी तथा आमन्त्रित अतिथि, सचिवालयका कर्मचारीहरु र निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारीहरु भर्चुअल माध्यमबाट सहभागी भई मूल समारोहको आयोजना गरियो ।

उक्त कार्यक्रमको अध्यक्षता एवम् उद्घाटन माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले गर्नुभएको थियो । सोही समारोहमा जिल्ला निर्वाचन कार्यालय, दोलखा, स्याङ्जा र डडेलधुराको नवनिर्मित कार्यालय भवनको माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो । यसै अवसरमा आयोग परिसरभित्र सरसफाई कार्यक्रम समेत आयोजना गरिएको थियो । नवौं निर्वाचन दिवसको अवसरमा निर्वाचन स्मारिका, २०८१ र नेपालको निर्वाचन इतिहास भाग–३ को बिमोचन गरिएको थियो । त्यसैगरी २०८० फागुन १ गतेदेखि २०८१ माघ मसान्तसम्म आयोग सचिवालयबाट अवकाश प्राप्त गर्नुहुने पूर्व कर्मचारीहरुलाई सम्मान गरिनुका साथै आयोग र अन्तर्गत कार्यालयहरुमा कार्यरत रही निर्वाचन सञ्चालन तथा व्यवस्थापन कार्यमा उत्कृष्ट कार्यसम्पादन गरी योगदान पु¥याउने १० जना कर्मचारीहरुलाई “उत्कृष्ट कर्मचारी पुरस्कार” सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा निर्वाचन आयोगका शाखा अधिकृत युवराज गुरागाईँ, नायव सुब्बा हेमन्तराज ढकाल र कुचिकार लक्ष्मीनानी च्यामे तथा प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेश, बिराटनगरका नायव सुब्बा तीर्थराज अधिकारी, प्रदेश निर्वाचन कार्यालय, मधेश प्रदेशका कम्प्यूटर अपरेटर कृष्णचन्द्र राउत, जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीका कम्प्यूटर अपरेटर अस्मिता लुङ्गेली, जिल्ला निर्वाचन कार्यालय, तनहूँका कम्प्यूटर अपरेटर दुर्गा माया आले, जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीका कम्प्यूटर अपरेटर बिनोद भट्टराई, जिल्ला निर्वाचन कार्यालय, कालिकोटका नायव सुब्बा धन बहादुर मल्ल र जिल्ला निर्वाचन कार्यालय, बाजुराका नायव सुब्बा अंगत बहादुर महत रहनु भएको छ । उक्त कार्यक्रममा माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले निर्वाचन सुधारको आगामी मार्गचित्रमा सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकताको उपयोग र नागरिक सहभागिता अभिवृद्धि गर्न जोड दिँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी रुपले सम्पन्न गर्न उच्च मनोवलका साथ खटिनुहुने सबै राष्ट्रसेवकहरु प्रति सम्मान व्यक्त गर्नुका साथै आजको विशेष दिनमा पुरस्कृत तथा सम्मानित हुनुहुने सबै कर्मचारीहरुलाइ बधाई सहित आम मतदातालाई निर्वाचन दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । साथै नवौं निर्वाचन दिवस, २०८१ को अवसरमा माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले दिनुभएको शुभकामना सन्देश संलग्न छ ।