२०८२ फाल्गुन २८ , बिहिवार

इजरायल र हमास युद्ध : हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

isareli-pm-netanyahu

सुनाखरी न्युज/ काठमाडौं ।

इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्ध अन्त्यको चेतावनी दिएका हुन् ।

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए ।

 

सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो ।

यो सम्झौतासँगै एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेको थियो । सोही अन्तर्गत शनिबार हमासले तीन इजरायली बन्दी रिहा गर्ने तयारी थियो ।

तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या खडा भएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूहरुबाट युद्धविराम उल्लंघन नभएको जिकिर गरेका छन् । उनले हमासले शनिबार बन्धकहरुलाई मुक्त नगरे पुनः आक्रमण सुरु गर्ने र हमासले पूर्णरुपमा हार स्वीकार नगरेसम्म आक्रमण जारी राख्ने बताएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार हमासको नियन्त्रणमा अझै ७६ जना इजरेली बन्धकहरु रहेको अनुमान छ ।