
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाले क्यानडाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाएको एक दिनपछि क्यानडाले पनि अमेरिकी सामानमा सोही अनुपातमा अतिरिक्त कर लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मन्त्रिपरिषद् बैठकको अध्यक्षता र प्रान्तीय र क्षेत्रीय प्रधानमन्त्रीहरूसँग भर्चुअल बैठक आयोजना गरेपछि मंगलबारदेखि ३० अर्ब क्यानेडियन डलर (२१ अर्ब अमेरिकी डलर) मूल्यका अमेरिकी सामानहरूमा २५ प्रतिशत कर लगाउने बताए ।
क्यानडाले अमेरिकाबाट आउने लगभग ३० अर्ब डलर बराबरका सामानमा भन्सारमा अतिरिक्त शुल्क लगाउनेछ । यी उत्पादनहरूको सूचिमा अमेरिकामा बनेका रक्सी, घरायसी सामान, औजार, हतियार, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, लुगा आदि समावेश छन ।ट्रुडोले थप गैर–कर व्यापार कार्यहरू अझै निर्णय गर्न बाँकी रहेको तर संयुक्त राज्य अमेरिकामा महत्त्वपूर्ण खनिज र ऊर्जा उत्पादनहरू निर्यातमा प्रतिबन्ध र अमेरिकी कम्पनीहरूलाई सरकारी सम्झौताहरूमा ल्याउनबाट रोक्ने कदम समावेश हुने चेतावनी दिए ।
एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । अमेरिकाले चीनबाट आउने सामानमा पनि १० प्रतिशत कर लगाउने घोषणा गरेको छ । ‘हामी यसलाई लिएर युद्ध लड्न चाहँदैनौं, तर हामी यसलाई हार्ने पनि छैनौं,’ क्यानडाकी प्रधानमन्त्री पदकी उम्मेदवार क्रिस्टिया फ्रिल्याण्डले अमेरिकी उत्पादनहरूमा कर लगाउने सरकारको निर्णयको बचाउ गर्दै भनिन् । फ्रिल्याण्डले अतिरिक्त महसुल युद्धलाई नराम्रो भन्दै यसले सबैलाई हानि पुर्याउने बताइन् ।