२०८२ फाल्गुन २९ , शुक्रवार

फेरि घट्न थाल्यो तापक्रम, तराईमा बाक्लो हुस्सु

weather 3

 

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो। जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा शीतलहर बढ्न थालेको र यो क्रम अझै केही दिन रहने जानकारीसहितको विशेष बुलेटिन नै जारी गरेको उल्लेख गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शीतलहर र हिमपातसम्बन्धी कार्ययोजना थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै प्रजिअलाई पत्राचार गरिएको जानकारी दिए ।

शुक्रबार काठमाडौँमा अधिकतम तापक्रम २१‍।५ डिग्री रहेकामा आज २०।५ डिग्री मापन गरिएको छ। ​न्यूनतम तापक्रम पनि आज ४।८ डिग्री मापन भएको छ। यही माघ ९ गते काठमाडौँको अधिकतम तापक्रम २४।६ डिग्री पुगेको थियो भने न्यूनतम तापक्रम पनि ६।२ डिग्री मापन गरिएको थियो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तापक्रम केही दिनअघिको तुलनामा घट्दै गएको बताए। यद्यपि अहिलेको तापक्रम सामान्यभन्दा बढी नै रहेको उनको भनाइ छ। मौसमविद् पुडासैनीले भने, “केही दिनअघिको भन्दा तापक्रम घटेको छ, मुख्यगरी यसअघि माथिल्लो वायुमण्डलमा उच्च चपीय प्रणाली थियो। अहिले त्यो सरेर गएकाले तापक्रम घटेको हो, अबको केही दिन यस्तै रहने देखिन्छ।”

महाशाखाका अनुसार आज राति दीपायलको अधिकतम तापक्रम २५।२ डिग्री र वीरेन्द्रनगरको अधिकतम तापक्रम २४।४ डिग्री छ। अन्य मापन केन्द्रहरुमा पनि यही माघ ९ गतेको तुलनामा तापक्रम घटेको छ। जुम्ला र जिरीमा भने न्यूनतम तापक्रम माइनसमा पुगेको जनाइको छ।