
सुनाखरी न्युज/ काठमाडौं ।
सेभ द प्लानेट नामक संस्थाले विद्यालय हरित क्षेत्र अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम सुरु गरेको छ । भक्तपुरका पाँच बिद्यालयमा बिभिन्न मौसमी फलको बोट रोप्दै संस्थाले विद्यालय हरित क्षेत्र दोश्रो चरणको अभियान सुरु गरेको हो ।संस्थाले दोश्रो चरणको विद्यालय हरित क्षेत्र अभियान अन्तर्गत भक्तपुरमा रहेका आदर्श माध्यामिक विद्यालय, जनक सिद्धिकाली मावि, श्री बालप्रेमि मावि, क्रियटिभ लर्नस् एकेडेमी र भक्तपुर अग्रेजी माविमा मौसमी फलको बोट रोपेको हो ।
विद्यालय क्षेत्रमा हरियाली बगैचा निर्माण गरि हरित क्षेत्र अभियानलाई अघि बढाइएको संस्थाका अध्यक्ष यादव भण्डारीले जानकारी दिनुभयो । विद्यालयको परिसरभित्र रहेको खाली क्षेत्रमा विद्यालयको समन्वयमा अम्वा, लप्सी, ओखर, एभोकाडो लगाएतका मौसमी फलका साथै तेजपत्ता, रुद्राक्ष, धुपी लगाएतका बोट रोपिएको संस्थाले जनाएको छ ।पहिलो चरणमा एक सय सामूदायिक तथा निजि विद्यालयमा मौसमी फलको बोट रोपिएको जानकारी दिदै संस्थाका अध्यक्ष भण्डारीले दोश्रो चरणमा उपत्यका र आसपासका १ हजार विद्यालयमा विद्यालय हरित क्षेत्र अभियान चलाउने बताउनुभयो ।
विद्यालय हरित क्षेत्र अभियान अन्तर्गतको कार्यक्रममा विद्यार्थीहरुलाई बृक्षारोपण, सरसफाइ, वातावरणसम्बन्धी प्रतिष्पर्धात्मक कला प्रदर्शनी र हस्ताक्षर अभियानमा सहभागी गराइएको थियो ।विद्यालयमा मौसमी फलको बोट रोपिएपछि विद्यालयका प्रधानाध्यापकहरुले त्यसको संरक्षण गर्ने जिम्मा आफुहरुको भएको भन्दै खुसी व्यक्त गरेका थिए । मौसमी फलको बोटबाट बिद्यालय हरियाली हुने र विद्यालयलाई केहि आम्दानी समेत हुने प्रधानाध्यापकहरुको भनाइ छ ।