
सुनाखरी न्युज/ काठमाडौं ।
मुम्बईमा बान्द्रा प्रहरीले शुक्रबार अभिनेता सैफ अली खानमाथि आक्रमणको घटनामा एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले रातको करिब साढे दुई बजे जानकारी दिँदै आरोपीलाई ठाणेस्थित हीरानन्दी क्षेत्रबाट पक्राउ गरिएको बताएको छ। पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ । प्रहरीका अनुसार आरोपी यसअघि मजदूरहरूसँगै बसेर ठाणेमा काम गर्थे। उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बंगलादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ । तर उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ । पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, ‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए ।
चिकित्सकहरूले सैफको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको र उनलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने जानकारी दिएका छन्। शनिबार प्रहरीको अनुसन्धानका क्रममा सैफको घरबाट भाँचिएको चक्कुको एउटा टुक्रा फेला परेको छ। मुम्बई प्रहरीले घटनाको सिलसिलामा सैफ अलि खानकी पत्नी र अभिनेत्री करिना कपुर खानको बयान पनि लिएको छ।करिना कपुरले प्रहरीलाई दिएको बयान अनुसार आक्रमणकारी घरभित्र छिरेपछि झगडाका क्रममा आक्रामक बनेका थिए, तर उनले त्यहाँ राखिएका गरगहनाहरूमा भने हात लगाएनन्। चिकित्सकहरूले सैफको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको र उनलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने जानकारी दिएका छन्।