
सुनाखरी न्युज/ काठमाडौं ।
आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ ।
मलेसियामा हुने यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।
नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।
ऐतिहासिक विश्वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।
विश्वकप खेल्न मलेसिया प्रस्थान गर्नुअघि नेपालकी कप्तान पुजा महतोले बंगलादेशसँग एसिया कपमा व्यहोरेको हारको बदला लिने बताएकी थिइन् ।
शनिबार बाङ्गीको मौसमी अवस्था भने राम्रो देखिएको छैन । मौसम पुर्वानुमान अनुसार बाङ्गीमा दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ । त्यस्तै दिउँसो नेपालको खेल हुने समयमा वर्षाको सम्भावना पनि देखिएको छ ।