२०८२ फाल्गुन २६ , मंगलबार

मध्यपुरथिमिको आम्दानी १४ करोड

New Note

सुनाखरी न्युज/ काठमाडौं ।

मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड २८ लाख १९ हजार छ सय ९० सङ्कलन गरेको हो ।

यो पालिकाको कूल वार्षिक राजस्व सङ्कलन लक्ष्यको ३९ दशमलव ३६ प्रतिशत हो । यहाँ चालु आवमा रु ३६ करोड २८ लाख सात हजार आन्तरिक स्रोतबाट राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ ।उपप्रमुख विजयकृष्ण श्रेष्ठले गत आर्थिक वर्षको तुलनामा यस वर्ष नक्सा पास कम भएकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जानकारी दिनुभयो । गत वर्ष यस नगरपालिकाले घर नक्साको अभिलेखीकरण खुलाएको थियो ।यस वर्ष घर नक्सा पासमा राजस्व सङ्कलनमा कमी आए पनि व्यवसाय, घरबहाल र विज्ञापन कर शीर्षकमा राजस्व वृद्धि भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शीर्षकमा गत आवको तुलनामा यस वर्ष रु दुई करोड ५२ लाख ८९ हजार आठ सय ८८ भन्दाबढी राजस्व सङ्कलन भएको छ ।नगरपालिकाले चालु आवको पहिलो छ महिनामा सबैभन्दा धेरै असोजमा रु तीन करोड ६० लाख ५६ हजार ३७, साउनमा रु तीन करोड २७ लाख ८५ हजार चार सय ५२ र भदौमा रु दुई करोड ४३ लाख ५३ हजार चार सय ७३ आन्तरिक आम्दानी गरेको थियो ।यसैगरी कात्तिकमा रु एक करोड ९८ लाख १२ हजार तीन सय ६६, मङ्सिरमा रु दुई करोड आठ लाख १६ हजार एक सय ७४ र पुसमा सबैभन्दा कम रु ९४ लाख १७ हजार नौ सय ८१ राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ ।  रासस