
सुनाखरी न्युज/ काठमाडौं ।
स्याम्पु गरेपछि कपाललाई स्वस्थ राख्न कन्डिसनर र ट्रिटमेन्ट क्रिम लगाउने गरिन्छ । यी दुई सामग्रीको प्रयोगले कपाललाई प्राकृतिक रुपले नरम, सिल्की र चम्किलो बनाउन मद्दत पुग्छ । त्यसैगरी कपाल टुक्रिन, झर्न र सुक्खा हुनबाट पनि रोक्छ । साथै कपालमा हाँगा पलाएको छ भने पनि यसको प्रयोगले राहत मिल्छ । त्यसैले कपालमा स्याम्पु लगाएपछि अनिवार्य रुपमा कन्डिसनर लगाउनुपर्छ ।
कसरी लगाउने ?
कपालमा कन्डिसनर र ट्रिटमेन्ट क्रिम लगाउने प्रक्रिया उस्तै हो । सुरुमा कपालमा स्याम्पु लगाएर राम्रोसँग सफा गर्नुपर्छ । स्याम्पु लगाइसकेपछि आफ्नो आवश्यकताअनुसार कन्डिसनर वा ट्रिटमेन्ट क्रिम लगाउनुपर्छ ।
कन्डिसनर र ट्रिटमेन्ट क्रिम लगाउँदा टाउकोको छालाभन्दा आधा इन्चमाथिदेखि कपालमा लगाउनुपर्छ । यी सामग्री लगाइसेपछि कपाललाई हातको सहायताले विस्तारै काइयोले जस्तै गरी केही समय तान्नुपर्छ । यसले कपालको भित्री भागसम्म कन्डिसनर र ट्रिटमेन्ट क्रिम पुर्याउँछ । त्यसपछि कपाललाई पाँचदेखि १० मिनेटसम्म यत्तिकै छोडेर राख्नुपर्छ ।
तर यो कपालको सुक्खापन र बनावटमा भर पर्छ । त्यसपछि कपालमा भएको सेतो फिंज नगएसम्म पानीले राम्रोसँग पखाल्नुपर्छ । कपाल धुँदा हरेकचोटि यसको प्रयोग गर्न सकिन्छ । तर एकचोटि प्रयोग गर्दा यी दुईवटामध्ये एउटाको मात्र प्रयोग गर्नुपर्छ । एजेन्सी