२०८२ फाल्गुन २५ , सोमवार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ। काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिर्भस’ मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, तृष्णा गुरूङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी दिइयो।

यस्तै, ‘मेरो डान्स युनिर्भस’ मा निर्णायकको रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के रहेका छन्। कार्यक्रम सञ्चालकको रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहनेछन्। आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिर्भस’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’ लाई मोसमी गुरूङले निर्देशन गर्ने जानकारी गराइयो।

आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए। उनले दुवै प्रतियोगिताका विजेताले एक करोड, उप–विजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने बताए।

नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ। अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ। फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिसन हुँदैछ। यस्तै, मार्च १ र २ मा भारतको मुम्बई नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौँमा अडिसन हुँदैछ। निर्णायक मध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिने काम गरेको बताइन्।