
सुनाखरी न्युज/ काठमाडौं।
गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका छन् । क्रमशः साउदी अरेबिया ११८०९, कतार ११७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १३४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाको रोजगारीमा भने घट्दो क्रममा देखिएको छ ।
मलेसियाले आप्रवासी कामदार ल्याउन रोक लगाएसँगै मलेसिया जाने श्रमिकको सङ्ख्या घटेको हो ।गत आवको साउन महिनामा ५५ हजार ५७५ जनाले वैदेशिक रोजगारीको स्वीकृत लिएका थिए । त्यसको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७.१९ प्रतिशतले बढेको देखिन्छ ।