
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।बैठकको आकस्मिक समयमा सांसदहरूले मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान गएको पहिरोमा परी दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता हुँदा हराइरहेका ६५ जना यात्रुको शीघ्र खोज, उद्धार गर्न आग्रह गर्नुभयो ।
सांसद शङ्कर भण्डारीले प्राकृतिक विपत्तिको सामान गरिरहेका नागरिकको उद्धार, राहत र क्षतिपूर्तिको कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्नुभयो । उहाँले अहिलेको परिस्थितिमा सिङ्गो सदन एकजुट भएर मुलुकसामु आइपरेको सङ्कट समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।सांसद दामोदर पौडेल ‘वैरागी’ ले देशभर बाढी, पहिरो चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको भन्दै पीडितको उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले पोखरा महानगर–१९ स्थित तल्लाकोटमा पहिरामा परी एकै परिवारका सात जनाको दुःखद् निधन भएको, दुईजना घाइतेको उपचार भइरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मुलुकका अन्य स्थानमा पनि प्राकृतिक विपत्तिका घटना बढिरहेका जनाउँदै सांसद पौडेलले उद्धार र राहतमा समस्या भइरहेकाले तत्काल व्यवस्थापकीय कार्य मिलाउन आग्रह गर्नुभयो ।सांसद जीवन परियारले त्रिशूली नदीमा बस बेपत्ता भएको घटनामा दुःख व्यक्त गर्दै शीघ्र खोज र उद्धार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ठाकुर गैरेले सरकारले विपद् जोखिमको लागि तयारी गरेको भए पनि उक्त तयारी पर्याप्त नदेखिएको भन्दै उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभर प्राकृतिक विपत्तिमा परेका नागरिकको यकिन विवरणसहित उनीहरुको उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन माग गर्नुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका नागरिकको उद्धार गर्न माग गर्नुभयो । उहाँले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
सांसद प्रभु साहले मुलुक प्रकृतिक विपत्तिका घटनाबाट आक्रान्त रहेको भन्दै अहिलेको परिस्थितिमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामनाथ अधिकारीले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोजन्य घटनाले जनजीवन प्रभावित बनेको भन्दै खोज, उद्धार र राहतका कार्यलाई चुस्त बनाउन माग गर्नुभयो ।
सांसद मनबहादुर गुरुङले बाढी, पहिरोलगायत विपित्तिमा परेका नागरिकको खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्नुभयो । सांसद प्रदीप यादव र सांसद देवप्रकाश तिमल्सिनाले त्रिशूली घटनामा वेपत्ता नागरिकको यथाशीघ्र खोजी गरी उद्धार प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा अमरेशकुमार सिंहले उद्धार र राहतको कार्यलाई शीघ्र रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरू तारा लामा तामाङ, रामप्रकाश चौधरी, अच्युतप्रसाद मैनाली, प्रभु हजारा र किरणकुमार साहले देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्तिका घटनाको ध्यानाकर्षण गराउँदै खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन माग गर्नुभयो । रासस