
सुनाखरी न्युज/ काठमाडौं ।
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएको छ ।बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँचदिनभित्र सहकारी समस्याको ठोस योजना ल्याउन मन्त्री अधिकारीले मन्त्रालयमा तहका निकाय र सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीको संयोजन रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउने गृहकार्य सुरु गरेको छ । ठोस योजनालाई अन्तिमरुप दिएर मन्त्रीपरिषद्को बैठकमार्फत निणर्य गराई सहकारी समस्या समाधानका लागि पहल कदमी लिने मन्त्री अधिकारीले बताए ।
मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायधिकरण गठन, स्वायत किसिमको नियमनकारी प्राधिकरणको गठन, कर्जा सुचना केन्द्रको स्थापना, सहकारी बचत तथा कर्जा सुरक्षण कोष र सहकारीको यथार्थ बिवरण संकलन गर्ने लगायतको ठोस कार्य योजना तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
छलफलमा प्रधानमन्त्री सहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री बर्षमान पुन, कानुन न्याय तथा संसदीय मामीला मन्त्री पदम गिरि, मुख्यसचिव बैकुण्ठ अर्याल, गृह, कानुन, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव लगायतका सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।