२०८३ जेठ १२ , मंगलबार

आलमविरुद्ध आज अन्तिम सुनुवाइ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ ।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।उनीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि गत पुस २९ गते हुने भनेर दिन तोकिए पनि धेरैजसो न्यायाधीश बिदामा बसेको भन्दै सो दिन पेसीमा चढेको थिएन ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो ।यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।