२०८३ जेठ १२ , मंगलबार

रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मायाको पहिचान नेपालले नेपालमा पहिलो पटक नेपाल पर्यटन बोर्डको सहयोगमा रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलन मार्फत आज होटेल एलफ्टमा गरिएको कार्यक्रममा अप्रिलको २० र २१ तारिखमा यो सम्मेलन हुने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले जानकारी गराउनु भयो । नेपालमा पहिलो पटक गर्न लागिएको यो सम्मेलनमा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, अन्तर्राष्ट्रिय दातृ निकायहरू, सञ्चारकर्मीहरू तथा सेलिब्रेटीहरुलाई आमन्त्रण गरिनेछ ।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा यो समुदायको आर्थिक उन्नतिमा सहयोग गर्न, रोजगारीका अवसर सिर्जना गर्न, तथा नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्‍याउनका लागि यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक नन्दिनी लाहे थापाले रेन्बो पर्यटन महत्त्वपूर्ण सेगमेन्ट भएको र नेपालले यो पर्यटनलाई सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो । नेपाल पर्यटन बोर्डले यो सम्मेलन सफल पार्न तथा रेन्बो पर्यटनलाई नेपाल भित्र्याउनका लागि सक्दो सहयोग गर्ने र थप कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो कार्यक्रमको प्रचारप्रसारका लागि स्टार प्रमोटरका रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारकर्मी तथा ब्लगर लेक्स लिम्बुलाई घोषणा गरिएको छ । लेक्स लिम्बुले आफूलाई स्टार प्रमोटर हुन पाएकोमा हर्ष व्यक्त गर्दै यो सम्मेलनलाई सफल पार्न तथा नेपालमा रेन्बो टुरिजम प्रवर्धन गर्नका लागि आफूले सक्दो भूमिका निभाउने बताउनु भएको छ । यो सम्मेलनको होटेल पार्टनरको रूपमा एलफ्ट होटेल अगाडि आएको छ ।

होटेलका सेल्स प्रबन्धक पवनराज भण्डारीले यो सम्मेलनमा होटेल सहपाठीका रूपमा भाग लिन पाउनु गौरवको कुरा भएको भन्दै यो अवसरका लागि मायाको पहिचान नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो । अन्तमा आजदेखि यात्रा टु ह्यापिनेस डटकमद्वारा भाग लिन चाहनेहरूले दर्ता गर्न सक्ने भएका छन् । यो रेन्बो पर्यटनका सांस्कृतिक राजदूत समेत रहेका सुनिलबाबु पन्तले राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरू, सरकार तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई सक्रिय सहभागी हुन यथाशक्य सहयोग गर्नका लागि आव्हान गर्नु भएको छ ।

नेपालले यो पर्यटनलाई प्रवर्धन गर्दै गर्दा नेपालको संस्कृति, रहनसहन, भेसभुसा, चाडपर्व, खानपान लगायतका मौलिक कुराहरूलाई संरक्षण र संवर्द्धन गरिने गरी यो पर्यटनलाई बढवा गरिने कुरा बताउनु भयो । विश्वमा वर्षको करिब ५ सय बिलियन डलर भन्दा बढी रेन्बो टुरिजम व्यवसाय हुने गरेकोमा यसबाट नेपालले फाइदा लिनु पर्ने बताउनु भयो । नेपालको भौगोलिक स्थितिलाई हेर्दा पनि हाम्रो दुई ठुला छिमेकी राष्ट्रमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार त्यति आसलाग्दो नदेखिएकोमा भारत तथा चीनका यो समुदायका रेन्बो पर्यटकहरू नेपालमा आउने सम्भावना धेरै छ ।