२०८३ जेठ १२ , मंगलबार

पर्यटन प्रवर्द्धनका लागि ‘सडक खाना महोत्सव’

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।
यहाँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायी सङ्घ ‘सडक खाना महोत्सव’मा जुटेका छन् ।आगामी फागुनको पहिलो सातादेखि मुख्य सडकका पेटीमा खाना महोत्सव आयोजना गर्न लागिएको सङ्घले जनाएको हो ।

फागुन ५, ६ र ७ गते बर्दिवासमा आयोजना हुने महोत्सवमा मधेसका विशिष्ट परिकारले पाहुनाको स्वागत गरिने सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार पूर्वपश्चिम र बिपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपा राजमार्ग) को सङ्गमस्थलमा महोत्सव हुनेछ ।सामान्यतया सडक यात्रीका लागि खानपिनको गन्तव्य रहँदै आएको बर्दिवासमा आयोजना हुने सडक खाना महोत्सवमा मधेसका विशिष्ट परिकारको व्यवस्था गरिने सङ्घले जनाएको छ ।

“महोत्सवभरि सडक पेटीमै व्यवस्थितरुपले विभिन्न परिकार पस्कन्छौँ । सँगसँगै जोडिएर रहने ५० खानाका स्टलमा पाहुनाले घुमीघुमी परिकारबारे जानकारी लिन र स्वाद बुझ्न सक्नुहुनेछ”, सङ्घका महासचिव नारायण घिमिरेले भन्नुभयो, “महोत्सव स्वस्थ्यकर खानाका परिकारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको हो ।” उहाँका अनुसार खानाका परिकार, स्वा, गुण र फाइदाबारे जानकारी गराइने छ ।

घिमिरेले भन्नुभयो, “महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिनु हुनेछ ।” उहाँका अनुसार महोत्सवमा सहभागी पाहुनाले २० देखि ४० प्रतिशतसम्म छुटमा पाउनेछन् भने विविध सांस्कृतिक कार्यक्रमसमेत हुनेछन् ।जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा स्वस्थ्यकर, स्वच्छ र स्वादिष्ट खाना एकै ठाउँमा छानीछानी पाहुनाले रमाउँदै खान पाउने तयारी गरिएको सङ्घले जनाएको छ । यो कार्यक्रमको उद्देश्य स्थानीय परिकारको प्रचारप्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनु रहेको महासचिव घिमिरेले जानकारी दिनुभयो ।

दिनअघिदेखि बर्दिवास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ र बर्दिवास नगर पत्रकार सञ्जालले पर्यटन प्रवद्र्धनका लागि गन्तव्य पहिल्याउने पदयात्रा सञ्चालन गर्दै आएका छन् । उद्योग वाणिज्य सङ्घले थालेको पदयात्रा अभियानमा क्रमशः सामाजिक सङ्घसंस्था जोडिँदै जानुले यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धनको वातावरण बन्दै गएको पदयात्राका सहभागीले बताएका छन् ।

महोत्सवमा बर्दिवास नगर कार्यपालिकाको सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् । करिब रु १५ लाखको लागतमा आयोजना गर्न लागिएको महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । सङ्घले तीन दिन बर्दिवासमा बसेर महोत्सवको आनन्द लिन सबैमा सार्वजनिक अपिल गरेको छ ।  रासस